काठमाडौं । गृहमन्त्री रमेश लेखकले कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको नयाँ शिराबाट गम्भीर र सूक्ष्म अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई निर्देशन दिएका छन्।

आइतबार सीआईबीको कार्यालय निरीक्षणका क्रममा गृहमन्त्री लेखकले अनुसन्धानमा कुनै कसर बाँकी नराख्न निर्देशन दिंदै दोषी पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याउन आदेश दिएका हुन्। उनले सीआईबीलाई अनुसन्धानमा तीव्रता ल्याएर आमजनताको भरोसा कायम राख्न आग्रह गरे।

advertisement

“निर्मला पन्तलगायत सबै जटिल घटनामा सीआईबीले अनुसन्धानमा तीव्रता दिनुपर्छ। सीआईबीप्रति जनताको विश्वास बढ्दो छ, यसलाई अझ बलियो बनाउनु आवश्यक छ,” गृहमन्त्री लेखकले भने।

उनले सीमित स्रोत–साधनका बाबजुद सीआईबीले देखाएको कार्यसम्पादन सराहनीय रहेको भन्दै गृह मन्त्रालयले सीआईबीलाई आवश्यक साधनस्रोत उपलब्ध गराउने प्रतिबद्धता जनाए।

गृहमन्त्री लेखकले पछिल्लो समय बढ्दै गएका वित्तीय अपराध नियन्त्रणका लागि अपराध अनुसन्धान महाशाखा गठन गरिएको जानकारी पनि दिए। उनले प्रहरीको आधारभूत संरचना सुदृढ गर्न चालु आर्थिक वर्षमा विगतको तुलनामा बढी बजेट विनियोजन गरिएको उल्लेख गरे।

कार्यक्रममा वरिष्ठ प्रहरी उपरीक्षक होविन्द्र बोगटीले सीआईबीको हालसम्मको अनुसन्धान गतिविधि, प्राप्त सफलता र अवस्थित चुनौतीबारे जानकारी गराएका थिए। बोगटीका अनुसार निर्मला पन्त प्रकरणसहित विभिन्न गम्भीर घटनामा अनुसन्धान जारी रहेको छ।

प्रकाशित मिति: १८ श्रावण २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com