काठमाडौं । थारु आयोगमा आन्तरिक विवाद चुलिँदै गएका छन्। आयोगकी सदस्य शान्ति मोदीले आइतबार कार्यवाहक अध्यक्ष सुबोधसिंह थारुको कार्यकक्षमै तालाबन्दी गरेकी छन्। सिंह कार्यकक्षमै रहँदा मोदीले ढोका थुनेको आयोग स्रोतले जनाएको छ।
विवादको जरो मोदीको बिदालाई लिएर हो। कार्यवाहक अध्यक्ष सिंहका अनुसार शान्ति मोदी एक महिनादेखि सम्पर्कविहीन थिइन्। मोदीले गत असार १३ गते आफ्ना चालकमार्फत पत्र पठाएर एक साताका लागि बिदा लिएको जानकारी दिएकी थिइन्। तर सो अवधिपछि पनि उनी आयोगमा नफर्किएको र सम्पर्कसमेत नभएको सिंहको भनाइ छ।
यही विवादका बीच मोदीले आइतबार अचानक आयोग कार्यालयमा उपस्थित भई कार्यकक्षमै रहेका अध्यक्ष सिंहलाई बाहिर जान नदिई ढोका थुनेकी थिइन्। घटनापछि मोदीले सामाजिक सञ्जालमार्फत भविष्यमा पनि यस्तै कदम उठाउन सक्ने चेतावनी दिएकी छिन्।
थारु आयोगभित्र देखिएको यो विवादले आन्तरिक समन्वय र अनुशासनको अवस्था प्रति गम्भीर प्रश्न उठाएको छ। घटनापछि आयोगमा थप विवाद चर्किने आशंका गरिएको छ।

प्रकाशित मिति: १८ श्रावण २०८२, आइतबार













प्रतिक्रिया