विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले निजामती सेवा विधेयकमा देखिएको विवादप्रति तीव्र असन्तुष्टि जनाउँदै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको राजीनामाको माग गरेका छन्।
आइतबार विराटनगरस्थित गुराँस पुस्तकालयको स्थापना दिवस अवसरमा आयोजित सम्मान कार्यक्रममा बोल्दै नेता कोइरालाले समितिको सभापति रहेको व्यक्तिले विवादास्पद विधेयकमा हस्ताक्षर गरेपछि नैतिकताका आधारमा पदबाट राजीनामा दिनुपर्नेमा खतिवडाले नदिएकोप्रति आपत्ति जनाए। “नैतिकता छैन भने राजनीति नगरे हुन्छ,” कोइरालाले भने, “राज्य व्यवस्था समितिको सभापति पद छाड्दैमा राजनीति सकिँदैन।”
उनले सत्तारूढ गठबन्धनमा कांग्रेस सहभागी भए पनि सरकार जनउत्तरदायी, पारदर्शी र जवाफदेही नभएको आरोप लगाए। उनले वर्तमान सरकार प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने प्रयत्नमा लागेको बताउँदै सामाजिक सञ्जालमा विचार लेख्दा पनि मुद्दा लाग्ने अवस्था सिर्जना भएकोप्रति चिन्ता व्यक्त गरे। “सरकारले प्रहरी प्रयोग गरेर अभिव्यक्ति दबाउने सोच बनाएको छ,” कोइरालाको टिप्पणी थियो।
विराटनगरलाई विगतमा जस्तै राजनीतिक जागरणको केन्द्र बनाउँदै भ्रष्टाचार र दण्डहीनताविरुद्ध फेरि सशक्त आन्दोलन आवश्यक रहेको कोइरालाले बताए। “प्रजातन्त्र संकटमा परेको छ, कांग्रेसको विचार र सिद्धान्तसमेत धरापमा छन्,” उनले जोड दिए।
संविधानमा रहेको निर्वाचन प्रणालीका कारण एकल बहुमतको सरकार बन्न नसक्ने अवस्था सिर्जना भएको र सधैं गठबन्धन सरकारमै निर्भर रहनुपर्ने बाध्यता आएको उल्लेख गर्दै कोइरालाले कांग्रेस नेतृत्व सरकार बनाउने मोहमा सबै मूल्य छाड्न थालेको आरोप लगाए। “दलका नेताहरूमा राष्ट्र निर्माणको स्पष्ट सोच छैन, कसरी सरकारमा पुग्ने भन्नेमा मात्रै ध्यान केन्द्रित छ,” उनले भने।
कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका सबै क्षेत्रमा समस्या देखिएको उल्लेख गर्दै कोइरालाले गहिरो चिन्ता व्यक्त गरे।
कार्यक्रममा यो वर्षको मुक्तिप्रसाद–यदुनाथ चापागाईं सम्मान अन्तर्गत राजनीतिमा उल्लेखनीय योगदान पुर्याएबापत हरि सापकोटालाई २१ हजार रुपैयाँ नगदसहित सम्मान गरियो। त्यस्तै, समाजसेवा क्षेत्रतर्फ मोहम्मद करिमलाई १ लाख ११ हजार रुपैयाँ राशिको नगदसहित सम्मान प्रदान गरिएको थियो भने प्रतिभा श्रेणीमा डा. प्रमिला गच्छदार सम्मानित भइन्।
प्रकाशित मिति: १८ श्रावण २०८२, आइतबार













प्रतिक्रिया