काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले नेपालजस्तो प्राकृतिक स्रोत र साधनले भरिएको मुलुक दरिद्रतामा किन अल्झिएको भन्नेबारे गम्भीर बहस आवश्यक भएको बताएका छन्।
आइतबार राजधानी काठमाडौँमा पार्टीको मोर्चाले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै यादवले नेपाललाई प्रकृतिले सबैथोक दिए पनि देश समृद्ध बन्न नसक्नु दुःखद विषय भएको उल्लेख गरे। “जहाँ माटो छैन, नदी छैन, जंगल छैन, त्यस्ता बालुवाका देशहरू सम्पन्न छन्, तर हामीसँग सबैथोक हुँदाहुँदै पनि देश दरिद्र बनेको छ,” उनले भने।
उनले थपे, “नेपालमा माटो छ, पानी छ, वनजंगल, हिमाल, पहाड र तराईजस्ता विविधता छन्। यस्तो देश मानव तस्करी गर्ने र श्रमिक आपूर्ति गर्ने मुलुकका रूपमा चिनिनु अत्यन्त पीडादायक हो। अब यसबारे गहिरो चिन्तन र बहस आवश्यक छ।”
अध्यक्ष यादवले मुलुकमा संघीयता र समावेशी लोकतन्त्रको पूर्ण अभ्यास अझै नभएको उल्लेख गर्दै अहिलेको अवस्था सुरुवाती चरणमा सीमित रहेको बताए। उनले वन क्षेत्रलाई भूमि ऐनभित्र राखेर वातावरणीय सन्तुलन बिगार्ने काम भइरहेकामा गम्भीर चिन्ता व्यक्त गरे।
उनको भनाइमा, “वनलाई ऐनमार्फत् हस्तक्षेप गरेर विनाश गरिँदै छ, जुन दीर्घकालीन रूपमा देश र वातावरणका लागि खतरनाक छ।”
यादवले समृद्धि र न्यायपूर्ण शासनको दिशामा अब ठोस कदम चाल्नुपर्ने आवश्यकता औंल्याउँदै संघीयता, समावेशीता र वातावरण संरक्षणका एजेन्डालाई बलियो ढंगले अघि बढाउनुपर्नेमा जोड दिए।
प्रकाशित मिति: १८ श्रावण २०८२, आइतबार













प्रतिक्रिया