काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन ‘अनन्त’ ले पार्टीका अर्का उपमहासचिव जनार्दन शर्माले कुनै पनि हालतमा पार्टी नछाड्ने स्पष्ट प्रतिबद्धता व्यक्त गरेको जानकारी दिएका छन्।

आइतबार पेरिसडाँडामा बसेको पार्टी स्थायी समिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पुनले उपमहासचिव शर्माले बैठकमा आफनो धारणा स्पष्ट रूपमा राखेको बताए। “उहाँले आफ्ना कमजोरी स्वीकार गर्दै पार्टीमै बसेर विचार राख्ने बताउनुभयो,” पुनले भने, “म पार्टी छोड्दिन, यहीं बसेर आफ्ना कुरा राख्छु भनेर शर्माले स्पष्ट रूपमा बोले।”

advertisement

उनका अनुसार उपमहासचिव शर्माले पार्टीभित्र विद्यमान समस्या र नेतृत्वसँग सम्बन्धित विषयहरू खुलेर उठाएका थिए। “कतिपय कमजोरीहरू मेरो पनि थिए, कतिपय अध्यक्षका र केही अन्य साथीहरूका पनि,” भन्दै शर्माले आत्मआलोचना गर्दै आलोचनात्मक टिप्पणी गरेका थिए।

पुनले स्थायी समिति बैठकमा छलफल खुला, स्पष्ट र आत्मालोचनात्मक भएको जानकारी दिए। उनका अनुसार, बैठकमा वरिष्ठ उपाध्यक्ष तथा महासचिवले पनि आफ्ना धारणा राखिसकेका छन् भने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार बैठकमा जवाफ दिने कार्यक्रम रहेको छ।

पुनले पार्टीको केन्द्रीय समिति बैठक दशैंपछि आयोजना गर्ने तयारी रहेको जानकारी पनि दिए। “पहाडी लोकमार्ग अभियान सम्पन्न भएपछि केन्द्रीय समिति बैठक बस्ने सहमति भएको छ,” उनले भने।

उनका अनुसार केन्द्रीय समिति बैठकको आवश्यकता र औचित्यबारे पार्टीभित्र कुनै मतभेद छैन। स्थायी समितिको बैठक समापनतर्फ उन्मुख छ र छलफल गम्भीर, जिम्मेवारपूर्ण र आत्मसमीक्षात्मक ढंगले अघि बढिरहेको पुनले स्पष्ट पारे।

प्रकाशित मिति: १८ श्रावण २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com