काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापारिक साझेदार मुलुकहरूमाथि लगाएको पारस्परिक ट्यारिफ (प्रतिशोधात्मक कर) नीतिको कडा बचाउ गरेका छन्।

ट्रम्पले मिडियासँग कुरा गर्दै भने, “यो निर्णय धेरै अघि नै लिइनु पर्ने थियो। मैले पहिलो कार्यकालमा चीनसँग यस्तो कदम चालेँ, तर कोभिड महामारीका कारण अन्य देशहरूसँग त्यो प्रक्रिया अघि बढ्न सकेन।”

उनले ट्यारिफबाट उठ्ने राजस्वले अमेरिकाले आफ्नो आन्तरिक ऋण चुक्ता गर्न सक्ने दाबी पनि गरे। “देशमा अहिले ठूलो मात्रामा पैसा भित्रिंदैछ र यो यति धेरै हुनेछ, जुन इतिहासमै एकै पटक कहिल्यै भएको थिएन। यसबाट सबैभन्दा पहिले हामी हाम्रो ऋण तिर्छौं,” ट्रम्पले बताए।

उनले आफ्नो उद्देश्य कुनै पनि देशमाथि दबाब सिर्जना गर्नु नभई निष्पक्षता स्थापना गर्नु भएको स्पष्ट पारे। “हामी जहाँ पनि समान र पारस्परिक कर प्रणाली चाहन्छौं। कहिलेकाहीँ, यो कर उनीहरूको लागि धेरै हुन सक्छ, तर हाम्रो देशका लागि यो सयौं अर्ब डलरको आम्दानी हुने बाटो हो,” ट्रम्पले बताए।

ह्वाइट हाउस प्रवेश गरेको केही महिनामै ट्रम्पले अमेरिकाको व्यापार घाटा रहेको देशहरूमाथि ट्यारिफ लगाउने कठोर नीति लागू गरेका थिए। उनले २०२४ अप्रिल २ मा व्यापार घाटा भएका देशहरूबाट आयात हुने वस्तुमा ५० प्रतिशतसम्म कर लगाउने नीति घोषणा गरेका थिए, जसमा प्रारम्भिक रूपमा १० प्रतिशत आधारभूत कर लागू गरिने बताइएको थियो।

यस नीतिले विश्वव्यापी अर्थतन्त्रमा हलचल ल्याएको थियो। आलोचना बढेपछि ट्रम्पले केही मुलुकहरूलाई वार्ता गर्ने मौका दिँदै कर प्रणाली ९० दिनका लागि स्थगन गरेका थिए। त्यस अवधिमा केही देशहरूले ट्रम्पको सर्तहरू स्वीकार्दै अमेरिका संग व्यापार सम्झौता पनि गरेका थिए।

ट्रम्पको भनाइमा, “म निष्पक्षता खोजिरहेको हुँ, दबाब होइन। हाम्रो मुलुकले व्यापार घाटा कम गर्नका लागि आफ्नो आर्थिक शक्ति प्रयोग गर्नु स्वाभाविक हो।”

प्रकाशित मिति: १९ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com