काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल विश्वमा चिनिनुको प्रमुख कारण गौतम बुद्धको जन्मस्थल लुम्बिनी भएको बताएका छन्।
शुक्रबार राजधानीमा आयोजित गुरु पद्मसंभवको जन्म दिवस विशेष समारोहमा बोल्दै मन्त्री पाण्डेले बुद्धको जन्मभूमिको रुपमा नेपालप्रति विश्वका धेरै राष्ट्रहरूले आत्मीयता राख्ने उल्लेख गरे। “हामी वेद र बुद्धको धरोहर बोकेको देश हौं, अब यसलाई सशक्त रूपमा विश्वसामु प्रस्तुत गर्नुपर्छ,” मन्त्री पाण्डेले भने।
उहाँले गुरु पद्मसंभवको ऐतिहासिक योगदानको चर्चा गर्दै हिमाली बौद्ध परम्पराको विकास र प्रसारमा उहाँको भूमिका उल्लेखनीय रहेको बताए। “गुरु पद्मसंभवको योगदान आज विश्वभर फैलिएको बुद्ध दर्शनको महत्वपूर्ण आधार हो,” मन्त्री पाण्डेले स्पष्ट पारे।
सरकारले पहिलोपटक औपचारिक कार्यक्रममार्फत गुरु पद्मसंभवको जन्म दिवस मनाएको उल्लेख गर्दै मन्त्री पाण्डेले आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने प्रतिबद्धता जनाए।
बुद्धको शिक्षाले विश्वभर नै आज पनि प्रभाव छाडिरहेको बताउँदै मन्त्री पाण्डेले भने, “भौतिक सम्पन्नता सीमित सन्तुष्टि दिन सक्छ, तर अन्तर्मनको शान्ति बुद्धमार्गबाट मात्र सम्भव हुन्छ।”
उनले ऐतिहासिक, धार्मिक र आध्यात्मिक सम्पदाको संरक्षण, प्रचार–प्रसार तथा अन्तर्राष्ट्रिय स्तरमा प्रभावकारी प्रस्तुतिकरणलाई नेपाल सरकारको प्राथमिक प्राथमिकता भएको पनि स्पष्ट पारे।
प्रकाशित मिति: १९ श्रावण २०८२, सोमबार













प्रतिक्रिया