काठमाडौं । देशका विभिन्न नदीहरूमा जलस्तर खतराको तह पार गरेसँगै कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले उच्च जोखिमयुक्त क्षेत्रहरूमा सुरक्षाकर्मी खटाउन निर्देशन दिएका छन्।
वर्षा र बाढीजन्य जोखिमका सन्दर्भमा आज आकस्मिक बैठक बोलाउँदै प्रधानमन्त्री सिंहले विशेष गरी राप्ती, बबई, भेरी, कर्णाली र महाकाली नदीमा जलस्तर बढेकाले सतर्कता अपनाउन आग्रह गरेका हुन्। उनका निर्देशन अनुसार, सम्भावित जनधनको क्षति रोक्न समयमै पूर्वतयारी स्वरूप सुरक्षाकर्मीहरू जोखिमयुक्त क्षेत्रमा तैनाथ गरिने भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) का कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टका अनुसार, बबई र भेरी नदीमा जलस्तर खतराको सीमाभन्दा माथि पुगेको जानकारी पाउनेबित्तिकै प्रधानमन्त्री सिंहले अवस्थाबारे विस्तृत जानकारी लिनुका साथै आवश्यक निर्देशन दिएका हुन्।
भट्टले भने, “राप्ती र बबई नदीमा पानीको सतह उच्च रहेको सूचना पाएपछि प्रधानमन्त्रीज्यूले आकस्मिक बैठक डाक्नुभएको हो। बैठकमा देशभरका विपद् अवस्था, वर्षा मापन र जोखिम क्षेत्रको समीक्षा गरिएको छ।”
उनका अनुसार, सुदूरपश्चिम र कर्णाली प्रदेशमा आज अत्यधिक वर्षाको सम्भावना रहेकाले महाकाली, कर्णाली, राप्ती र बबई नदी आसपासका जिल्ला प्रशासन कार्यालयहरूलाई उच्च सतर्क रहन तथा सुरक्षाकर्मी परिचालन गर्न भनिएको छ।
यससँगै कार्यवाहक प्रधानमन्त्री सिंहले मधेस प्रदेशमा पनि वर्षाको स्थिति र सम्भावित जोखिमका विषयमा चासो देखाउँदै सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग समन्वय गरी आवश्यक तयारी गर्न निर्देशन दिएका छन्।
सरकारले मौसम पूर्वानुमान, बाढी निगरानी तथा स्थानीय प्रशासनसँगको समन्वयमार्फत संभावित जोखिम न्यूनीकरणमा प्राथमिकता दिने स्पष्ट संकेत दिएको छ।
प्रकाशित मिति: २० श्रावण २०८२, मंगलबार













प्रतिक्रिया