काठमाडौं । रूसबाट तेल आयात गरेको विषयमा भारतमाथि अमेरिकासहित युरोपेली संघले लगाउँदै आएको आरोपप्रति भारतले कडा प्रतिक्रिया दिएको छ। भारतले आफूलाई मात्र निशाना बनाइनु अनुचित र असंगत भएको स्पष्ट पार्दै, ऊर्जा सुरक्षाको विषयमा आफ्नो नीति दृढ रहेको प्रस्ट पारेको छ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले सोमबार प्रतिक्रिया दिंदै भने, “भारतले सस्तो र स्थिर ऊर्जा आपूर्ति सुनिश्चित गर्न अन्तर्राष्ट्रिय बजारको परिस्थितिअनुसार निर्णय लिएको हो। यस्ता निर्णय राष्ट्रिय हित र आर्थिक सुरक्षासँग सम्बन्धित छन्।”
उनका अनुसार, रुसबाट तेल आयात गरेको भन्दै भारतमाथि आलोचना गर्ने देशहरू आफैंले पनि विविध क्षेत्रहरूमा रुससँग व्यापार गरिरहेका छन्। “युरोपेली संघले केवल ऊर्जा मात्र होइन, मल, खनिज, फलाम, रसायन, मेसिनरी र यातायातका सामग्रीहरू समेत रुसबाट आयात गरिरहेको छ,” उनले प्रष्ट पारे।
त्यस्तै, अमेरिकाले समेत आफ्नो आणविक उद्योगका लागि युरेनियम हेक्साफ्लोराइड, विद्युतीय सवारी उद्योगका लागि प्यालेडियम, मल र अन्य रसायनहरू अझै रुसबाट ल्याइरहेको जयसवालको भनाइ छ। “त्यसैले भारतलाई मात्र लक्षित गर्नु पूर्णरूपमा अन्यायपूर्ण र अविवेकी हो,” उनले भने।
भारतले स्पष्ट पारेको छ कि अन्य प्रमुख अर्थतन्त्रहरूको जस्तै उसले पनि आफ्ना जनताको हित, ऊर्जा आवश्यकताहरू र आर्थिक सुरक्षालाई प्राथमिकता दिँदै आवश्यक कदम चालिरहनेछ।
रुस–युक्रेन युद्ध सुरु भएयता भारतले रुसबाट ऊर्जा आयात बढाउँदै आएको छ। यिनै विषयलाई लिएर अमेरिका र युरोपेली संघ भारतप्रति आलोचनात्मक हुँदै आएका छन्। अमेरिका अझ हालै मात्र भारतबाट आयात हुने केही वस्तुहरूमा २५ प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने निर्णयमा पुगेको थियो।
भारतको यो स्पष्ट प्रतिक्रिया यस क्षेत्रको भू-राजनीतिक सम्बन्धमा महत्वपूर्ण सन्देशको रूपमा लिइएको छ।
प्रकाशित मिति: २० श्रावण २०८२, मंगलबार













प्रतिक्रिया