काठमाडौं । राजसंस्था पुनर्स्थापना र हिन्दु राष्ट्रको मुद्दा लिएर संसदसम्म पुगेको राप्रपाभित्र नेतृत्वको एकाधिकार, निर्णय प्रक्रिया, र अनुशासन कार्यान्वयनलाई लिएर गम्भीर विवाद उत्पन्न भएको छ।

महामन्त्री धवल शमशेर राणाको नेतृत्वमा रहेको असन्तुष्ट समूहले अध्यक्ष राजेन्द्र लिङ्देनविरुद्ध मोर्चाबन्दी गर्दै कार्यसम्पादन समितिको बैठक माग गरेका छन्। असन्तुष्ट ११ सदस्यसहितको समूहले १७ जनाको समर्थन जुटाउने प्रयास गरिरहेको छ। तर, लिङ्देन पक्षले अहिले बैठक आवश्यक नरहेको बताउँदै अस्वीकार जनाएका छन्।

advertisement

आन्तरिक विवादका बीच नवराज सुवेदी, किशोरबहादुर कार्कीलगायत नेताहरूले पार्टी परित्याग गरेका छन्। अनुशासन समितिमा सुवेदी हटाइएपछि लिङ्देनले रोशन कार्कीलाई संयोजक नियुक्त गरे भने प्रवक्ताबाट सगुन लावती हटाइए। यी निर्णयहरूलाई संस्थापनविरोधी नेताहरूले “विधानविपरीत” भन्दै आपत्ति जनाएका छन्।

पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, उपाध्यक्ष मुकुन्दश्याम गिरी, महामन्त्री राणा, र प्रवक्ता लावतीलगायत ५० नेता सहभागी छुट्टै भेलाले अध्यक्षमाथि दबाब बढाएका छन्। संस्थापन पक्षले भने पद खाली भएकाले नयाँ नियुक्ति गरिएको र आन्तरिक एकता विगार्ने प्रयास भइरहेको दाबी गरेको छ।

अर्कोतर्फ, स्वकीय सचिव छत्र खडायतबाट आक्रमणमा परेका नेता राजु गैरेमाथि भएको घटनालाई लिएर असन्तुष्ट समूहले लिङ्देन नेतृत्वमाथि गम्भीर आरोप लगाएका छन्। घटनाको भिडियो सार्वजनिक भए पनि न पुलिसमा जाहेरी दर्ता भएको छ, न पार्टीले कारबाही गरेको छ। प्रवक्ता श्रेष्ठले घटना व्यक्तिगत भएको र पार्टीसँग सम्बन्ध नभएको बताए।

विवाद चुलिँदै जाँदा राप्रपाको राजसंस्थाप्रति गरिएको आन्दोलन पनि निष्क्रिय भएको छ। अध्यक्ष लिङ्देनले उपाध्यक्ष रविन्द्र मिश्रसँग भेट गरे पनि विवाद मिल्ने संकेत अझै देखिएको छैन।

प्रकाशित मिति: २० श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com