काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले यदि सोलार र ब्याट्री प्रविधिबाट मुलुकको विद्युत् माग पूर्ति गर्न सकिने अवस्था बनेमा महंगा जलविद्युत् आयोजना निर्माणको आवश्यकता नरहने बताएका छन्।
राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिले राति र दिउँसोको विद्युत् माग अत्यधिक हुने भए पनि सोलार र ब्याट्री प्रविधिले ती समयको आवश्यकता धान्न सकेमा हाइड्रोपावर परियोजनामाथिको निर्भरता हट्ने स्पष्ट पारे। उनका अनुसार, “हामीलाई ऊर्जाको स्रोत कहाँबाट आयो भन्ने होइन, हाम्रो माग सोलार र ब्याट्रीबाट पूर्ति हुन सके हाइड्रो आवश्यक नपर्न सक्छ।”
शाक्यले हाल औद्योगिक क्षेत्रहरूमा विद्युत् खपत अपेक्षाकृत कम रहेको जानकारी दिँदै बिहान र साँझको विद्युत् आपूर्तिमा सोलार र ब्याट्री सक्षम भए जलविद्युत्मा ठूलो लगानी गर्नुपर्ने बाध्यता हट्ने धारणा राखे।
कार्यक्रममा बोल्दै उनले सिँचाइ क्षेत्रमा पनि सोलार प्रविधिको प्रयोग आवश्यक रहेको बताए। उनका अनुसार, पहाड र तराईका सिँचाइयोग्य क्षेत्रहरूमा सोलार पम्प जडान गरी मिटरिङ प्रणाली लागू गर्न सकिने हो भने विद्युत् चोरीमा उल्लेखनीय कमी ल्याउन सकिन्छ। “छिमेकी भारतको अनुभवले पनि यस्तै देखाएको छ,” शाक्यले भने।
उनले विद्युत् प्राधिकरणले देशभरका पालिकाहरूमा सडक बत्ती जडान गरे पनि धेरैजसो पालिकाले वर्षौंसम्म बक्यौता नतिरेको गुनासो गरे। नगरपालिकाहरूले आफ्नो बजेटमा विद्युत् खर्च समावेश नगरेको कारण बक्यौता बढ्दै गएको उनको भनाइ थियो।
शाक्यले समाधानका रूपमा पालिकाहरूले आफ्नै सोलार बत्ती जडान गरेर उत्पादित विद्युत् प्राधिकरणलाई बिक्री गर्न सक्ने व्यवस्था गर्नुपर्ने सुझाव दिए। साथै, प्रसारण लाइन नजिकको क्षेत्रलाई सोलार उत्पादनका लागि उपयोग गर्ने योजनाअनुसार प्राधिकरणले काम अघि बढाइरहेको र पाइलट प्रोजेक्टका रूपमा खिम्तीमा सो कार्य सुरु भइसकेको जानकारी पनि उनले दिए।
उनका अनुसार, प्रसारण लाइनभित्रका खाली जग्गाहरूको उपयोग गर्दै सोलार प्रविधिलाई जोड दिइँदैछ, जसले दीर्घकालीन रूपमा मुलुकको ऊर्जा सुरक्षामा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: २० श्रावण २०८२, मंगलबार













प्रतिक्रिया