काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक मंगलबार पार्टीको केन्द्रीय कार्यालय, वनस्थलीस्थित घण्टिघरमा बसेको छ। बैठकको प्रारम्भमा बर्दिया जिल्ला अध्यक्ष विपिन पौडेलको निधनप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक व्यक्त गरिएको थियो।
पार्टी प्रवक्ता मनिष झाले बैठकमा हालका समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको हालसम्मको गतिविधिबारे गहन छलफल भइरहेको जानकारी दिए। उनका अनुसार, रुपन्देहीमा सम्पन्न संसदीय दलको बैठक, आगामी रुपन्देही–३ उपनिर्वाचनको तयारी, सुदूरपश्चिम प्रदेशमा कार्यरत समस्या समाधान कार्यदलको प्रगतिबारे समेत समीक्षा गरिएको छ।
बैठकमा विधानको व्याख्या (विशेषगरी अनुशासन आयोग प्रयोजनका लागि) अनुमोदन, निर्वाचन आयोगमा रुपन्देही उपनिर्वाचनका लागि दल दर्ता प्रक्रिया, तथा समानुपातिक निर्वाचन सूचीबाट प्रतिनिधिसभा सदस्यको नाम हटाउने सम्बन्धी निवेदनका विषयमा विशेष छलफल भएको छ।
बैठकले अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा आयोजना गर्न लागिएको “फ्युचर लिडर्स समिट” कार्यक्रमको तयारीबारे पनि छलफल गरेको छ। भिजिट भिसा प्रकरण छानबिन समितिको म्याद थप गर्ने प्रस्ताव, विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार सुनिश्चित गर्न दबाबमूलक अभियान सञ्चालन गर्ने योजना पनि बैठकमा उठाइएका मुद्दा हुन्।
प्रवक्ता झाले जानकारी दिएअनुसार, पार्टी सभापति रवि लामिछानेमाथि भइरहेको कथित राजनीतिक प्रतिशोधको विरोधस्वरूप सुरु गरिएको नागरिक हस्ताक्षर अभियानलाई थप प्रभावकारी बनाउने विषयमा पनि गम्भीर छलफल भएको छ।
रास्वपाले पछिल्लो समय आन्तरिक संरचना सुदृढीकरणसँगै जनस्तरमा प्रभावकारिता बढाउने रणनीति अपनाउँदै आएको देखिन्छ। मंगलवारको बैठकमा प्रस्तुत विषयवस्तुहरू पार्टीको आगामी रणनीतिक दिशा निर्धारणमा महत्वपूर्ण हुने बताइएको छ।
प्रकाशित मिति: २० श्रावण २०८२, मंगलबार













प्रतिक्रिया