काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामती सेवा विधेयकमा गरिएको “कुलिङ अफ पिरियड” सम्बन्धी संशोधन त्रुटिपूर्ण भएको स्वीकार गरेका छन्।
मंगलबार समितिसमक्ष स्पष्टीकरण दिंदै उनले उक्त त्रुटि ‘मानवीय भूल वा कसैको नियतवश गरिएको’ हुनसक्ने बताएका हुन्।
“यो त्रुटि मनसायपूर्वक पनि हुनसक्छ वा मानवीय भूल पनि हुनसक्छ,” खतिवडाले स्पष्ट पारे, “तर म कुलिङ अफ पिरियडको अवधारणा सुरुदेखि समर्थन गर्दै आएको छु।”
उनका अनुसार जेठ २ गतेको समितिको बैठकमा “राजीनामा” भन्ने शब्द थपेर कुलिङ अफ पिरियडको व्यवस्था पारित गरिएको हो। तर पछिल्लो चरणमा समितिबाट पास भएको प्रतिवेदनभन्दा फरक सामग्री विधेयकमा राखिएको र त्यसले विवाद निम्त्याएको उनले बताए।
खतिवडाले ड्राफ्टिङमा संलग्न कानुन मन्त्रालय, संसदीय सचिवालय वा सम्बन्धित मन्त्रालयमध्ये कसले जिम्मेवारी लिएको हो भन्नेबारे छानबिन आवश्यक भएको बताए। साथै त्रुटि नियतवश गरिएको हो भने त्यो आपराधिक काम ठहरिने उल्लेख गरे।
उनको धारणा अनुसार निजामती सेवामा कुलिङ अफ पिरियडको उपयुक्त स्थान भने संवैधानिक परिषद्सम्बन्धी कानुन हुनुपर्ने थियो, यो विधेयक होइन।
खतिवडाले निष्कर्षमा भने, “यदि यो मानवीय त्रुटि हो भने भविष्यमै सचेत भइ सुधार गर्नुपर्छ, तर नियतवश हो भने त्यसका लागि कडा जवाफदेही हुनुपर्छ।”
प्रकाशित मिति: २० श्रावण २०८२, मंगलबार













प्रतिक्रिया