काठमाडौं । संघीय निजामती सेवा विधेयकमा समावेश गरिएको ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधानमा देखिएको हेरफेरबारे प्रमुख सचिव एकनारायण अर्यालले स्पष्ट पारेका छन्।
सभापतित्वको कुलिङ पिरियडसम्बन्धी छानबिन समितिसँगको कुराकानीमा मुख्यसचिव अर्यालले उक्त हेरफेर नियतवश नभई मानवीय त्रुटिका कारण भएको दाबी गरेका छन्। साथै, उनले कर्मचारीहरूमाथि विश्वासको कमीकै कारण यस्तो गल्ती भएको बताएका छन्।
समितिबाट पारित प्रतिवेदनमा अवकाश वा राजीनामा दिएका निजामती कर्मचारीलाई दुई वर्षभित्र राजनीतिक नियुक्ति दिन नमिल्ने व्यवस्था थियो। तर, प्रतिनिधि सभाबाट पारित हुँदा उक्त व्यवस्था हटाइएको थियो। यही विषयमा उठेको विवाद समाधानका लागि सभामुख देवराज घिमिरेको निर्देशनमा ७ सदस्यीय छानबिन समिति गठन गरिएको हो।
अर्यालले कुलिङ पिरियड हटाउन आफूले सभामुख, प्रधानमन्त्री, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष औपचारिक रूपमा धारणा राखेको बताएका छन्। उनले भने, “सभामुखज्यूसँग देउसी भैलो गर्न होइन, पदीय हैसियतमै गएका थियौँ। हाम्रो धारणा राख्नु अधिकार हो।”
उनले कुलिङ पिरियड हटाइनुपर्छ भन्ने माग अझै यथावत रहेको उल्लेख गर्दै भने, “यो विधेयक ऐन नबनेसम्म त्यो व्यवस्था नराख्नुपर्छ भन्ने हाम्रो माग हो।”
छानबिन समितिमा साउन ४ गतेको बयानमा अर्यालले भनेका छन्, “उपदफा (४) र (५) को विषयमा नियतवश होइन, कर्मचारीहरूप्रति अविश्वासका कारण मानवीय त्रुटि भएको हो। अब यस्तो त्रुटि सच्याउनुपर्छ।”
प्रकाशित मिति: २० श्रावण २०८२, मंगलबार













प्रतिक्रिया