काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले पुरुषलाई बहुविवाहको अनुमति दिने कानुन बन्न लागेको भन्ने हल्लाले समाजमा भ्रमको स्थिति सिर्जना भएको भन्दै सरकारसँग तत्काल स्पष्ट धारणा सार्वजनिक गर्न माग गरेकी छन्।
मंगलबार कानून, न्याय तथा संसदीय मामिला मन्त्रीसँग भेट गर्दै उनले यस विषयमा आधिकारिक सूचना दिनुपर्ने मागसहित औपचारिक पत्र बुझाएकी हुन्।
डा. कार्कीले सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममार्फत बहुविवाहलाई कानुनी मान्यता दिन लागिएको भन्ने आशयका समाचार र पोस्टहरू व्यापक रूपमा फैलिन थालेपछि आमनागरिकमा भ्रम, आशंका र आक्रोश बढेको जनाएकी छन्।
“पुरुषले बहुविवाह गर्न पाउने कानुनी प्रावधान ल्याइँदैछ भन्ने हल्लाले समाजमा खैलाबैला मच्चिएको छ,” उनले सामाजिक सञ्जालमा लेखेकी छन्, “सरकारले यस्तो संवेदनशील विषयमा ढिलासुस्ती नगरी आजै औपचारिक धारणा सार्वजनिक गर्नुपर्छ।”
मन्त्रीलाई बुझाइएको पत्रमा उनले वर्तमान मुलुकी अपराध संहिता, २०७४ ले बहुविवाहलाई स्पष्ट रूपमा दण्डनीय अपराध मानेको कुरा स्मरण गराएकी छन्। यस्तै संवेदनशील विषयमा भ्रमपूर्ण सन्देश फैलिनु समाजको सामाजिक सद्भावमा प्रतिकूल असर पार्ने चेतावनी पनि दिएकी छन्।
पत्रमार्फत उनले नागरिकप्रति सरकारको जवाफदेहिता र विधिको शासनमा जनताको भरोसा कायम राख्न मन्त्रालयलाई तत्काल यथार्थ तथ्य सार्वजनिक गर्न आग्रह गरेकी छन्।
महिला अधिकारकर्मीहरू बहुविवाहविरुद्ध आमरण अनशनमा बसिरहेको अवस्थामा सरकार मौन बस्न नहुने भन्दै उनले गम्भीर ध्यानाकर्षण गराएकी छन्।
डा. कार्कीको भनाइले अहिले सामाजिक रूपमा चासोको विषय बनेको बहुविवाहसम्बन्धी कानुनी हल्लाबारे सरकारी धारणा स्पष्ट पार्ने दवाव बढेको छ।

प्रकाशित मिति: २० श्रावण २०८२, मंगलबार













प्रतिक्रिया