काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) का अध्यक्ष कमल थापाले मुलुकमा बढ्दो बेथिति, भ्रष्टाचार र विकृतिको अन्त्य गर्दै राष्ट्रियता र प्रजातन्त्रको रक्षाका लागि अब बलियो राष्ट्रवादी शक्तिको खाँचो रहेको बताएका छन्।
मंगलबार काठमाडौं क्षेत्र नं–१ ले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै थापाले २०६२/६३ को राजनीतिक परिवर्तनले मुलुकलाई समृद्धितर्फ लैजान नसकेको स्पष्ट पारे। उनले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको प्रयोगले अपेक्षित परिणाम नदिएको भन्दै ती व्यवस्थाहरूले मुलुकलाई उल्टै अन्योलमा धकेलेको टिप्पणी गरे।
थापाले वर्तमान शासन प्रणालीले कुशासन, भ्रष्टाचार, बेरोजगारी, महँगी र धर्म परिवर्तनजस्ता समस्यालाई निम्त्याएको भन्दै जनताले अब जागरुक भएर यस्ता विकृतिको अन्त्यका लागि जुट्नुपर्ने समय आएको बताए।
उनले भने, “देश जर्जर अवस्थामा पुगेको छ। यो स्थितिबाट मुलुकलाई बचाउन अब जनता जुरुक्क उठ्नुपर्छ। वैकल्पिक राष्ट्रवादी शक्तिको खाँचो आजको मुख्य आवश्यकता हो।”
थापाले यस्ता विकृतिको विरुद्ध जनमत निर्माण गर्दै आन्दोलनको वातावरण बनाउनु आवश्यक रहेको धारणा व्यक्त गरे।
कार्यक्रममा राप्रपा नेपालका नेताहरू तारानाथ लुइँटेल, श्याम घिमिरे, पुष्पा खरेल भट्ट, उज्वल पोखरेललगायतले पनि आ–आफ्ना धारणा राखेका थिए।
उनीहरूले देशमा व्यापक निराशा छाएको अवस्थामा राप्रपा नेपालले वैकल्पिक शक्ति बनेर जनताको पक्षमा दृढताका साथ उभिनुपर्नेमा जोड दिएका थिए।
प्रकाशित मिति: २० श्रावण २०८२, मंगलबार













प्रतिक्रिया