काठमाडौं । नेपालको महिला युवा टिम पहिलो पटक एएफसी यु–२० महिला एसियन कप खेल्ने विश्वाससहित भुटानमा छ। भुटानको थिम्पुमा आजदेखि एएफसी यु–२० महिला एसियन कप छनोट समूह ‘ए’ सुरु हुँदै छ। समूह ए मा रहेको नेपालले आफ्नो छनोट यात्रा घरेलु टोली भुटानविरूद्धको खेलबाट सुरू गर्नेछ।

खेल थिम्पुस्थित चाङलिमियाङ स्टेडियममा साँझ पौने ६ बजे सुरू हुने छ। प्रतियोगिताको पूर्वसन्ध्यामा नेपालका प्रशिक्षक यामप्रसाद गुरुङले आफ्नो टिम यु–२० महिला एसियन कपमा छनोट हुनेमा आफू ढुक्क रहेको बताए।

यस समूहमा बलियो उत्तर कोरिया र साउदी अरब पनि छन्। उत्तर कोरिया एएफसी एसियन कपको च्याम्पियन टिम हो। सो समूहमा रहेको अर्को टिम मङ्गोलियाले भने प्रतियोगिताबाट नाम फिर्ता लिएको थियो।

नेपालले समूह उपविजेताका रूपमा अगाडि बढ्ने लक्ष्य लिएको छ। ३२ राष्ट्रको सहभागिता रहेको छनोटमा आठ समूह रहेका छन्। हरेक समूहका विजेता आठ टोली तथा उत्कृष्ट तीन उपविजेता टोलीले आगामी वर्ष थाइल्यान्डमा हुने यु–२० एसिया कपमा स्थान बनाउने छ।

दुई हप्ताअघि बङ्गलादेशमा सम्पन्न साफ यु–२० महिला च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको थियो। अन्तिम खेलबाहेक सबै खेलमा नेपालले गजबको प्रदर्शन गरेको थियो तर फाइनलमा रूपान्तरित बङ्गलादेशविरुद्धको अन्तिम भिडन्तमा नेपाल ४–० ले पराजित भयो।

प्रकाशित मिति: २१ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com