काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले आउँदो २०८४ सालको संघीय निर्वाचनमा माओवादी केन्द्रले एकल बहुमत प्राप्त गर्ने दाबी गरेका छन्।
न्युज एजेन्सी नेपालसँगको कुराकानीमा सापकोटाले हालै सम्पन्न स्थायी कमिटी बैठकले पार्टीलाई नयाँ ऊर्जा प्रदान गरेको उल्लेख गर्दै जनवर्गीय संगठन र विभिन्न मुक्तिमोर्चाहरू सक्रियताका साथ पार्टी निर्माणमा लागेको बताए। यसले २०८४ को चुनावमा माओवादीको स्पष्ट बहुमत सुनिश्चित गर्ने आधार तयार भएको उनको भनाइ छ।
सापकोटाका अनुसार माओवादी केन्द्रले सञ्चालन गरेका हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्ग अभियानले पार्टीलाई पुनः जनतासँग जोड्न सफल भएको छ। केही समय अलमलिएको देखिए पनि अब माओवादीले स्पष्ट दिशा र गति लिएको उनले उल्लेख गरे।
उनले पार्टी भित्र विगतमा केही कमजोरीहरू रहेको स्वीकार गर्दै भने, “कहिले एमाले, कहिले कांग्रेससँग गठबन्धन गर्दा पार्टीको अलग्गै अस्तित्व नै हराएको जस्तो देखिएको थियो। यसले शहीद परिवार, बेपत्ता परिवार र आम जनमानस पार्टीबाट टाढिएको महसुस गरायो।”
पार्टीको वर्गीय दृष्टिकोण धमिलिँदा जनताको सरोकारमा ध्यान दिन नसकेको सापकोटाको स्वीकारोक्ति छ। तथापि, उनले अब पार्टीले रूपान्तरण र शुद्धीकरणका लागि आत्मसमीक्षा गरी नयाँ ऊर्जा र संकल्पका साथ अघि बढिरहेको बताए।
उनका अनुसार २०८१ साल पुसमा सम्पन्न केन्द्रीय समितिको बैठकले समाजवादी क्रान्तिको स्पष्ट रुपरेखा र मागचित्र तय गरेपछि पार्टीले विचार, दर्शन, रणनीति र कार्यक्रमहरूलाई कार्यान्वयनको दिशामा अघि बढाएको हो।
हुलाकी राजमार्ग केन्द्रित अभियान र महेन्द्रनगरदेखि पोखरा सम्मको मध्यपहाडी लोकमार्ग अभियानले पार्टीलाई जनस्तरसम्म पुग्न मद्दत गरेको सापकोटाको भनाइ छ।
स्ववियु निर्वाचन, नेपाल पत्रकार महासंघ तथा स्थानीय तहको निर्वाचनमा माओवादीले देखाएको प्रभावशाली उपस्थिति पनि पार्टीको पुनः उदयको संकेत भएको उनको तर्क छ। “ठूला दलहरू गठबन्धनमा हुँदा पनि हामीले राम्रो परिणाम ल्याएका छौं,” उनले भने ।
उनले अन्त्यमा भने, “जनताले फेरि अग्रगमन र परिवर्तनकै बाटो रोज्ने छन्, त्यसैले माओवादी केन्द्रलाई नै रोज्नेछन् ।”
प्रकाशित मिति: २१ श्रावण २०८२, बुधबार













प्रतिक्रिया