काठमाडाैं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले जनतासँग प्रत्यक्ष रूपमा न्याय, शान्ति र विकासको अनुभूति गराउने गरी जिम्मेवार शासन सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
बुधबार हेटौंडामा नेपाली कांग्रेस बागमती प्रदेश समितिद्वारा आयोजित स्वागत तथा बधाई कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाले आफू उत्तरदायी, पारदर्शी र जवाफदेही सरकार सञ्चालनमा दृढ रहेको बताए।
“राजनीति नाफा–नोक्साको व्यापार होइन, सेवा र धर्म हो। म जनताको सेवामा समर्पित छु,” उनले भने, “गरिब, पीडित र निमुखाको पक्षमा सदैव सत्य र न्यायका लागि खटिनेछु।”
मुख्यमन्त्री बानियाले आफ्नो मुख्यमन्त्री कार्यकालमा प्राप्त हुने तलब–भत्ता व्यक्तिगत उपयोगमा खर्च नगरी निर्वाचन क्षेत्रका गरिब तथा विपन्न परिवारका लागि घर निर्माणमा प्रयोग गर्ने घोषणा समेत गरे। उनले विपन्न समुदायको पीडा आफूले नजिकबाट अनुभूति गरेको भन्दै राहत दिन ठोस काम गर्ने आश्वासन दिए।
कार्यक्रममा नेपाली कांग्रेसका कार्यकर्ताले मुख्यमन्त्री बानियाका साथै बिनाविभागीय मन्त्री शिवराज अधिकारी र खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङलाई स्वागत तथा सम्मान गरेका थिए।
प्रकाशित मिति: २१ श्रावण २०८२, बुधबार













प्रतिक्रिया