काठमाडौं । निर्वाचन आयोगले तयार पारेको “राजनीतिक दल स्वमूल्यांकन कार्यविधि, २०८२” का विरुद्ध संसद्मा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस र नेकपा एमाले बाहेकका अधिकांश दलहरूले संयुक्त आपत्ति जनाएका छन्।
बुधबार सिंहदरबारमा बसेको संयुक्त बैठकमा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनमत पार्टी, नागरिक उन्मुक्ति, लोसपा, आजपा, राष्ट्रिय जनमोर्चालगायतका दलहरूले कार्यविधिलाई संविधान, कानुन र लोकतन्त्रविपरीत भन्दै खारेजको माग गरेका हुन्।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यविधि साना दलहरूलाई नियन्त्रण गर्ने प्रयोजनसहित ल्याउन लागिएको भन्दै सबैलाई साझा धारणा बनाउन आग्रह गरे। उनका अनुसार, नेपाली कांग्रेस र एमालेकै निर्देशनमा आयोगले कार्यविधि अघि बढाएको जानकारी आफूहरूले पाएको बताए।
नेकपा (एस) अध्यक्ष माधवकुमार नेपालले प्रस्तावित समिति, संयोजक र अधिकारहरू संविधान र राजनीतिक दलसम्बन्धी ऐन २०७३ सँग मेल नखाने बताए। उनले भने, “पार्टीका आन्तरिक अभिलेख र सफ्टवेयरमा आयोगको पहुँच दिने कुरा स्वायत्ततामाथि हस्तक्षेप हो।”
रास्वपा नेता गणेश पराजुलीले कार्यविधिको मनसाय नै त्रुटिपूर्ण रहेको टिप्पणी गरे। जनमत पार्टी अध्यक्ष सीके राउतले आयोग साना दलहरू हटाउने रणनीतिमा लागेको आरोप लगाए। आजपा अध्यक्ष प्रभु साहले संविधानविपरीत भएको भन्दै सडक संघर्षको चेतावनी दिए।
बैठकमा सहभागी दलहरूले कार्यविधिको नाम “स्वमूल्यांकन” भए पनि उद्देश्य नियन्त्रण रहेको स्पष्ट रहेको भन्दै निर्वाचन आयोगसँग छलफल, प्रतिवाद र आवश्यक परे आन्दोलनको रणनीति तय गर्ने सहमति जनाएका छन्।
निर्वाचन आयोगले साउन २२ गतेसम्म सुझाव दिन भन्दै दलहरूलाई कार्यविधि पठाएको थियो। आयोगले दलहरूको कार्यप्रणालीमा पारदर्शिता र आन्तरिक मूल्याङ्कन सुनिश्चित गर्न यो कार्यविधि ल्याउन लागेको बताएको छ।
प्रकाशित मिति: २१ श्रावण २०८२, बुधबार













प्रतिक्रिया