काठमाडौं । काठमाडौं प्रहरीको हिरासतमा रहेका मिलन गुरुङ (चक्रे मिलन)माथि भक्तपुर प्रहरीले पनि ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाउने तयारी गरेको छ।
काठमाडौं प्रहरी परिसरका डिएसपी ढुण्डिराज न्यौपानेका अनुसार मिलन गुरुङविरुद्ध २०८१ भदौ १० गते भक्तपुरको सानोठिमीस्थित बड्डाको तावा रेस्टुरेन्टमा भएको खुकुरी आक्रमणको घटनामा अनुसन्धान थालिनेछ। उनले भने, “उक्त समय उनका तीन पुस्ते विवरण नखुलेका कारण मुद्दा अघि बढ्न सकेको थिएन। अहिले पीडितले सनाखत गरेपछि अनुसन्धान अघि बढ्नेछ।”
उक्त घटनामा मनिष रायमाझीलाई चक्रे मिलनको समूहले बोलाएर रेष्टुरेन्टमा खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको आरोप छ। सोही घटनामा संलग्न रहेको आरोपमा सर्लाहीका अजित खवासलाई प्रहरीले पक्राउ गरेको थियो। उनी महालक्ष्मी नगरपालिका, ग्वार्कोमा बसोबास गर्दै आएका थिए।
मनिषलाई दुबै कोखामा गम्भीर चोट लागेको र टाउकोमा समेत निलडाम हुने गरी कुटपिट गरिएको आरोप छ। सरकारी वकिल कार्यालय भक्तपुरमा प्रतिवादी बनाइएका अजित खवासले भने आफूले उल्टै घाइतेलाई प्रहरीसमक्ष बुझाएको र प्रहरीले अस्पताल पुर्याएको बताएका थिए।
मनिषका अनुसार, उक्त दिन आफूले सामाजिक सञ्जालमा चक्रे मिलनप्रति आलोचनात्मक टिप्पणी गरेपछि मिलनका अनुयायीहरू रिसाएर आक्रमणमा उत्रिएका थिए। ‘तैं हो, मेरो दाइलाई डुडे भन्ने?’ भन्दै ८/९ जनाको समूहले आक्रमण गरेको र आफूलाई समेत कुटपिट गरेको मनिषको बयान छ।
उनले चक्रे मिलनले आफूलाई सिधै कुटपिट गरेको र पछि तीनकुने प्रहरी चौकी पुर्याउँदा ‘मामा मलाई चक्रेले पिट्यो’ भनेको पनि बताइएका छन्। चक्रे मिलनको संलग्नता पुष्टि भए पनि तीन पुस्ते विवरण अभावका कारण उनीविरुद्ध अभियोगपत्र दायर गरिएको थिएन।
यसबीच जिल्ला अदालत भक्तपुरले अजित खवासविरुद्धको मुद्दामा प्रमाण अपर्याप्त रहेको भन्दै चैत २८ गते अभियुक्तलाई सफाइ दिएको थियो। यद्यपि, पीडित मनिषले सरकारी वकिलसमक्ष दिएको कागजातमा अजितले चक्रे मिलनलाई आफ्नो लोकेशन दिएको हुनसक्ने आशंकासमेत गरेका छन्।
हाल चक्रे मिलनसहित १९ जना काठमाडौं प्रहरी परिसरको हिरासतमा छन्। साउन १५ गते मध्यराति महाराजगन्जस्थित साम्बाला होटलमा जन्मदिनको कार्यक्रम गरिरहेको अवस्थामा प्रहरीले ‘त्रास फैलाउने, होहल्ला गर्ने र बाटो छेकेर प्रदर्शन गरेको’ आरोपमा उनलाई पक्राउ गरेको थियो।
सोही दिन प्रारम्भमा ४७ जनालाई नियन्त्रणमा लिइए पनि पछि १९ जनाविरुद्ध मात्रै अभद्र व्यवहारसम्बन्धी अभियोगमा म्याद थप गरी अनुसन्धान जारी छ।
प्रकाशित मिति: २१ श्रावण २०८२, बुधबार













प्रतिक्रिया