काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबारे पार्टीले लिएको निर्णय राष्ट्र, पार्टी र स्वयम् भण्डारीको हितमा रहेको स्पष्ट पारेका छन्।

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै पोखरेलले पूर्वराष्ट्रपतिलाई पार्टी सदस्यता नदिएको निर्णयलाई सम्मानका रूपमा लिनुपर्ने बताए।

advertisement

“उहाँलाई पार्टी सदस्य बनाउने होइन, देशको स्थायी अभिभावकको हैसियतमा राख्नुपर्ने निष्कर्षमा पार्टी पुगेको हो। यो निर्णय देश, पार्टी र उहाँकै हितमा केन्द्रित छ। सबैले यस सन्देशलाई गम्भीरताका साथ बुझ्नुपर्छ,” पोखरेलले भने।

उनले पूर्वराष्ट्रपतिप्रति भइरहेका नकारात्मक टिप्पणीप्रति गम्भीर आपत्ति जनाउँदै त्यसलाई तत्काल रोक्नुपर्ने आवश्यकता औंल्याए।

“पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीप्रति गरिने अवाञ्छित टिप्पणी अस्वीकार्य छ। उहाँको सम्मान र गरिमामा आँच आउने कुनै पनि व्यवहार सह्य हुनेछैन,” पोखरेलले स्पष्ट गरे।

उनले एमालेले पूर्वराष्ट्रपतिलाई राजनीतिमा नल्याएर दिएको सम्मानलाई नकारात्मक रूपमा चित्रण गर्न खोज्नु दुर्भाग्यपूर्ण भएको बताए।

त्यस्तै, पोखरेलले पछिल्लो समय केही समूहले “पूर्वराष्ट्रपति भण्डारी भर्सेस एमाले” भन्ने भ्रम फैलाउन खोजेको आरोपसमेत लगाए।

“पूर्वराष्ट्रपति र एमालेबीच कुनै द्वन्द्व थिएन, छैन। त्यसो हो कि भनेर फैलाइएको हल्लाको अब आयु सकिएको छ,” उनले दोहोर्याए।

महासचिव पोखरेलले एमालेले सम्मानपूर्वक व्यवहार गर्दै पूर्वराष्ट्रपतिको भूमिका देशको साझा अभिभावकका रूपमा कायमै रहने विश्वास व्यक्त गरे।

प्रकाशित मिति: २१ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com