काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले माओवादी केन्द्रमा अहिलेसम्म नेतृत्व परिवर्तन नभएको टिप्पणी गरेका छन्।

फेसबुकमा एक पोस्टमार्फत उनले २०४६ सालको प्रजातान्त्रिक परिवर्तनपछि एमाले र नेपाली कांग्रेसमा पटक–पटक नेतृत्व फेरिए पनि माओवादी केन्द्रमा भने प्रचण्ड (पुष्पकमल दाहाल) लगातार शीर्ष स्थानमा रहँदै आएको भन्दै व्यंग्य गरेका छन्।

advertisement

पोखरेलले एमालेमा २०४६ सालपछिको कालखण्डमा मदन भण्डारी, मनमोहन अधिकारी, माधवकुमार नेपाल, झलनाथ खनाल र केपी शर्मा ओलीले नेतृत्व सम्हालेको उल्लेख गरेका छन्। तीमध्ये मनमोहन अधिकारी पार्टी अध्यक्ष भए पनि कार्यकारी भूमिकामा नरहेको स्पष्ट पार्दै उनले मदन भण्डारी २०४६ देखि २०५० सालसम्म महासचिव रहेको पनि उल्लेख गरेका छन्।

मदन भण्डारीको निधनपछि माधवकुमार नेपाल २०६४ सालसम्म महासचिव रहे भने त्यसपछि झलनाथ खनालले २०७१ सालसम्म पार्टीको नेतृत्व सम्हाले। त्यसयता एमालेको नवौं महाधिवेशनबाट केपी शर्मा ओली अध्यक्ष बनेका छन्।

पोखरेलले नेपाली कांग्रेसमा पनि २०४६ सालयता नेतृत्व परिवर्तन हुँदै आएको भन्दै कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवा पार्टी सभापति बनेको तथ्य प्रस्तुत गरेका छन्। तीमध्ये तीन जना नेताहरू दिवंगत भइसकेका छन्।

तर माओवादी केन्द्रको सन्दर्भमा भने पोखरेलले व्यंग्य गर्दै भनेका छन् — “२०४६ को राजनीतिक परिवर्तन आउनुअघि नै पार्टी नेतृत्वमा आएका पुष्पकमल दाहाल (प्रचण्ड) अहिलेसम्म पनि प्रमुखकै भूमिकामा छन्।”

प्रकाशित मिति: २२ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com