काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रूपन्देही–३ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार सिफारिस प्रक्रियाअन्तर्गत ९ जनाको आवेदन परेको जनाएको छ।
रास्वपाले साउन ७ देखि २१ गते साँझ ५ बजेसम्म उम्मेदवारी आवेदन खुला गरेको थियो। पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्यका अनुसार तोकिएको समयभित्र ९ जनाले आवेदन दिएका हुन्।
आवेदन दिनेमा रूपन्देहीका सुलभ खरेल, भैरहवाका पार्थिवेन्द्र उपाध्याय, सिद्धार्थ नगरका डा लेखजंग थापा, ज्ञानु पौड्याल, जितबहादुर गुप्ता (शेखर), कुसुम महर्जन, मधु अर्याल, रचना क्षेत्री, पुनमकुमारी अग्रवाल छन्।
रास्वपाले शुक्रबार र शनिबार दाबी–विरोधका लागि समय दिएको छ। शनिबार नै दाबी–विरोध उपर निर्णय गरी अन्तिम नामावली प्रकाशन गरिनेछ। साउन २५ गते उम्मेदवारहरूसँग छलफलपछि २६ गते प्रारम्भिक नामावली सार्वजनिक गरिनेछ।
पार्टीका अनुसार साउन २७ देखि भदौ ११ गतेसम्म उम्मेदवारहरूमाथि लिडरसिप एकेडेमी, पोलिटिक प्रोक्सिमिटी, रसमावेशिता मापन गरिनेछ।
भदौ १२ र १३ गते तीन जना उम्मेदवारबीच प्रारम्भिक निर्वाचन हुनेछ। भदौ १५ गते अन्तिम उम्मेदवार चयन गरिनेछ।
रूपन्देही–३ मा उपनिर्वाचन आगामी कात्तिक १७ गते तोकिएको छ।
प्रकाशित मिति: २२ श्रावण २०८२, बिहिबार













प्रतिक्रिया