तस्बिर : एन्फा
काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीले फिफा वरियतामा हालसम्मकै उत्कृष्ट स्थानमा उक्लिएको छ। फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १३ स्थान उक्लिँदै ८७औं स्थानमा पुगेको हो।
यसअघि १००औं स्थानमा रहेको नेपालले अब १२४८.८९ अंकसहित ८७औं स्थानमा इतिहास रच्न सफल भएको हो। यो नेपाली महिला फुटबलको फिफा वरियतामा हालसम्मकै उच्च स्थान हो।
नेपालले पछिल्लो समय एएफसी महिला ओलम्पिक छनोट प्रतियोगितामा प्रभावशाली प्रदर्शन गरेको थियो। प्रतियोगिताको समूह चरणमा नेपालले लाओसलाई ९–० र श्रीलंकालाई ८–० को फराकिलो अन्तरले पराजित गरेको थियो। उज्वेकिस्तानसँगको तेस्रो खेलमा निर्धारित समयसम्म ३–३ को बराबरी खेलेको नेपाल टाइब्रेकरमा ४–२ ले पराजित भएको थियो।
पछिल्ला सकारात्मक नतिजाले नेपाललाई अन्तर्राष्ट्रिय अंकमा ठुलो फड्को मार्न मद्दत पुगेको हो।
प्रकाशित मिति: २२ श्रावण २०८२, बिहिबार













प्रतिक्रिया