काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पक्षधर समूहले काठमाडौंको थापागाउँमा सम्पर्क कार्यालय स्थापनाको तयारी थालेको छ। भण्डारी संरक्षक रहेको मदन भण्डारी हिरक जयन्ती मूल व्यवस्थापन समितिले कार्यालयका लागि एक घर भाडामा लिएको स्रोतले जनाएको छ।
बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको नेतृत्वमा गठन गरिएको ७५ सदस्यीय समितिले मदन भण्डारीको ७५औं जन्मजयन्तीको अवसरमा वर्षभर विभिन्न कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ। जबज (जनताको बहुदलीय जनवाद) र मदन भण्डारीका विचारहरूमा केन्द्रित विमर्श कार्यक्रमहरूको आयोजना गरिने बताइएको छ।
तर, एमालेले पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने र उनलाई औपचारिक रुपमा राजनीतिमा फर्कन रोक लगाउने निर्णय गरेपछि समितिको सक्रियता पार्टीभित्रको शक्ति सन्तुलनसँग जोडिएको छ। थापागाउँस्थित भाडाको घरमार्फत एमालेभित्र अन्तरसंघर्षको संकेत देखिएको नेताहरूले बताएका छन्।
भाडामा लिइएको सो घर २०४८ सालमा मदन भण्डारीले चुनावी अभियान सञ्चालन गरेको ऐतिहासिक स्थलसमेत हो। मदन भण्डारीको निधनपछि भएको उपनिर्वाचनमा विद्यादेवी भण्डारीले पनि यही घरबाट चुनावी अभियान सञ्चालन गरेकी थिइन्।
हाल सोही घरलाई सम्पर्क कार्यालयका रूपमा प्रयोग गर्दै भण्डारी पक्षधर समूहले राजनीतिक गतिविधि गर्ने तयारी थालेको नेताहरूको भनाइ छ।
प्रकाशित मिति: २२ श्रावण २०८२, बिहिबार













प्रतिक्रिया