काठमाडौं ।  नेपाल शिक्षक महासंघले भदौ दोस्रो साताबाट पुनः आन्दोलनमा उत्रिने घोषणा गरेको छ। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार, विद्यालय शिक्षा ऐन जारी गर्न सरकारले दिएको समय सीमा बिहीबार सकिएपछि आन्दोलनको तयारी थालिएको हो।

महासंघको बिहीबार सम्पन्न बैठकले आन्दोलनको निर्णय लिएको हो। आगामी भदौ ३ र ४ गते राष्ट्रिय समितिको पूर्ण बैठक बोलाइएको छ, जसमा आन्दोलन परिचालन समितिको खाका अनुमोदन गरिने सुवेदीले जानकारी दिए।

advertisement

अध्यक्ष सुवेदीले प्रतिनिधिसभामा शिक्षा विधेयक दर्ता नभइसकेकाले त्यसको विषयवस्तुबारे ठोस टिप्पणी गर्न नसकिने बताए। तर, हालसम्म सरकारसँग भएका सहमति कार्यान्वयनमा नआएको र विद्यालय शिक्षा ऐनले शिक्षकहरूको मुख्य माग सम्बोधन नगरेको भन्दै असन्तुष्टि जनाए।

यसैबीच, प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शिक्षकसम्बन्धी केही प्रस्ताव पारित भएका छन्। तीमध्ये विद्यालयका प्रधानाध्यापक पदमा पुगेका महासंघ सदस्यहरूको सदस्यता स्वतः खारेज हुने, शिक्षकको बढुवा प्रक्रिया आन्तरिक प्रतियोगिता, जेष्ठता र मूल्याङ्कन प्रणालीमार्फत गरिने र कार्यसम्पादन मूल्याङ्कनको न्यूनतम अंक ८० तोक्ने प्रस्तावहरू प्रमुख छन्।

महासंघले गत चैत २० देखि २९ दिन लामो आन्दोलन सञ्चालन गरेको थियो। ऐन समयमै जारी नभए पुनः आन्दोलनमा जाने चेतावनी महासंघले त्यसबेलै दिएको थियो।

 

प्रकाशित मिति: २२ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com