काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक कलह झन् तीव्र बन्दै गएको छ । बिहीबार काठमाडौंको बत्तिसपुतलीस्थित होटल तपसमा बसेको अध्यक्ष राजेन्द्र लिङ्देन पक्षीय बैठकले, अध्यक्षविरुद्ध उत्रिनेहरूलाई अझ कठोर रूपमा सामना गर्ने तयारी गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
हालै अध्यक्ष लिङ्देनका निर्णयहरू विरुद्ध असन्तुष्ट पक्षले पटक–पटक बैठक र विज्ञप्ति जारी गर्दै आक्रामक बन्दै गएपछि संस्थापन पक्ष पनि रणनीतिक छलफलमा जुटेको हो । उक्त बैठकमा लिङ्देनले आफ्ना समर्थकहरूलाई पूर्ण साथ दिए अझै “निर्मम” भएर अघि बढ्ने चेतावनी दिएका थिए ।
“तपाईंहरूको साथ भयो भने झन् कठोर कदम चाल्छु,” लिङ्देनको भनाइ उद्धृत गर्दै एक सहभागीले बताए । उनले पार्टीभित्रको ‘पुरानो प्रवृत्ति’ अन्त्य गर्न आवश्यक परे जुनसुकै मूल्य चुकाउन आफू तयार रहेको स्पष्ट पारे । “काम गर्न नदिने भएकै कारण म निलम्बनमा जान बाध्य भएँ । कारबाही गर्नुपर्यो भने त्यसको सामना गर्न उनीहरूलाई गाह्रो पर्ला,” लिङ्देनको भनाइ थियो ।
लिङ्देनले चैतभित्र महाधिवेशन सम्पन्न गर्न प्रयास गर्ने घोषणा पनि गरे । उक्त बैठकमा असन्तुष्ट नेताहरूलाई बोलाइएको थिएन । अहिले महासचिव डा. धवलशमशेर राणाको नेतृत्वमा असन्तुष्ट समूह अलग बैठक गर्दै आएको छ । “बैठक भइरहेको कुरा सुनेका छौं, तर हामीलाई कुनै जानकारी दिइएको छैन,” असन्तुष्ट पक्षका एक नेताले प्रतिक्रिया दिए ।
अध्यक्ष लिङ्देनले मुकुन्दश्याम गिरी, नवराज सुवेदी, सगुन लावती, धनसुर शाहीलगायतलाई पदमुक्त गरेपछि पार्टीभित्रको विवाद खुलेर सतहमा आएको हो । तर, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले भने पार्टीमा कुनै विवाद नभएको दाबी गरेका छन् ।
प्रकाशित मिति: २३ श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया