काठमाडौं । लोकप्रिय लोकगायक तथा संगीतकार खेम सेञ्चुरीको स्वास्थ्यमा सुधार आएको छ।
बिहीबार साँझ क्यानडामा आयोजना हुने सांगीतिक कार्यक्रममा सहभागी हुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका सेञ्चुरीको स्वास्थ्यमा एक्कासि समस्या देखिएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो।
विमानस्थलको बोर्डिङ पास लिएर जहाज चढ्न तयारी अवस्थामा रहेका बेला अचानक पेट दुखेपछि प्राथमिक स्वास्थ्य परीक्षणपछि उनलाई एम्बुलेन्समार्फत सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) अस्पताल पुर्याइएको थियो।
अस्पतालमा गरिएको परीक्षणपछि सेञ्चुरीको पिसाब नलीमा पत्थरी (स्टोन) रहेको पुष्टि भएको थियो। तर, तत्काल शल्यक्रिया गर्नुपर्ने अवस्था भने नरहेको बताइएको छ।
गायक सेञ्चुरीसँगै रहेका उनका निकटस्थ शम्भु कुँवरका अनुसार, “स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ। अपरेशन गर्नुपर्ने कि भन्ने थियो, तर अहिलेका लागि आवश्यक परेको छैन। सम्भवत: आजै अस्पतालबाट डिस्चार्ज हुनुहुनेछ।”
सेञ्चुरीको एक महिनासम्मको अन्तर्राष्ट्रिय सांगीतिक यात्रा क्यानडाबाट सुरु हुने तयारीमा थियो। क्यानडापछि इजरायल र अष्ट्रेलियामा समेत उनका कार्यक्रम तय भएका छन्।
तर स्वास्थ्यमा समस्या आएपछि क्यानडाको हिमालयन मेला कार्यक्रममा भने उनी सहभागी हुन नसक्ने भएका छन्। यद्यपि, बाँकी तय कार्यक्रमहरूमा भने उनी सहभागी हुने तयारी भइरहेको जनाइएको छ।
खेम सेञ्चुरी हाल नेपाली लोकसंगीत क्षेत्रमा अत्यन्त चर्चित, व्यस्त र दर्शकमाझ लोकप्रिय गायक तथा संगीतकारका रूपमा स्थापित छन्।
प्रकाशित मिति: २३ श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया