काठमाडौं । राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले नेपाली कांग्रेस र नेकपा (एमाले) का नेताहरूले सहकारी क्षेत्रमा गरेको ठगीले लाखौँ नेपालीको मेहनतको कमाई जोखिममा पारेको आरोप लगाएका छन्।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत शाहीले बचतकर्ताहरूमा उत्पन्न भएको बिचल्लीको अवस्था र समुदायमा देखिएको असुरक्षाबारे गम्भीर चिन्ता व्यक्त गर्दै दोषीहरू अझै पनि उन्मुक्ति पाएको भन्दै गृहमन्त्री रमेश लेखकलाई कडा प्रश्न उठाएका छन्। उनले भने, “गृहमन्त्रीज्यू, कांग्रेस र एमालेका सहकारी ठगहरूलाई कहिले कारागार हाल्नुहुन्छ? तपाईंको नियतमाथि नै गम्भीर प्रश्न उठ्न थालेको छ।”

advertisement

साथै, शाहीले हालै पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई रुपन्देही कारागारमा राखिएको तस्बिरले नेपालको न्याय प्रणालीमा विद्यमान संरचनागत समस्यालाई पुनः उजागर गरेको उल्लेख गरे। यसले आम नागरिकमा न्यायप्रति देखिएको विश्वासमा ठूलो असर पुगेको उनले बताए।

शाहीका अनुसार, यो समस्या केवल रवि लामिछानेको व्यक्तिगत विषय नभई नेपालका कैदी–बन्दीहरूले भोगिरहेका सामूहिक यथार्थ हुन्। कारागारमा कैदी संख्या क्षमताभन्दा बढी हुनु, आधारभूत मानवीय सुविधा नपाउनु र न्यायिक प्रक्रियामा भइरहेको ढिलाइ वर्षौंदेखि समाधान हुन नसकेको उनको भनाइ छ।

उनले भन्यो, “हाम्रो संविधानले प्रत्येक नागरिकलाई निष्पक्ष न्याय र मानवीय व्यवहारको ग्यारेन्टी दिएको छ। तर, कारागारको वर्तमान अवस्था र न्यायिक प्रक्रियाको सुस्तताले यी संवैधानिक अधिकारहरूको खिल्ली उडाइरहेको छ। यसप्रति सम्बन्धित सबै निकायको ध्यानाकर्षण गराउन चाहन्छौं।”

शाहीले सरकार र न्यायिक प्रणालीलाई दोषीलाई कारबाही गरी न्याय सुनिश्चित गर्न तत्काल कदम चाल्न आग्रह गरेका छन्।

प्रकाशित मिति: २३ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com