काठमाडौं । संघीय निजामती कर्मचारी विधेयकमा समेटिएको ‘कुलिङ अफ पिरियड’ व्यवस्थामा किर्ते भएको भन्ने विवादपछि प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा राजीनामा दिने तयारीमा पुगेका छन्।
स्रोतका अनुसार संसदीय छानबिन समितिले उक्त विधेयक संशोधन प्रक्रियामा ‘नैतिक जिम्मेवारी’को सवाल उठाएपछि खतिवडा पदबाट हट्ने मनस्थितिमा पुगेका हुन्। समितिको प्रतिवेदनले उनीमाथि प्रत्यक्ष दोष नदेखाए पनि ‘नैतिक प्रश्न’ उठाएको छ।
खतिवडाको नजिक रहेका नेपाली कांग्रेसका एक नेताका अनुसार, “उहाँ आफैं ‘कुलिङ अफ पिरियड’को पक्षमा हुनुहुन्थ्यो, विधेयकमा गल्ती जानाजान नगरेको हो। तर आफूले नै मागेको छानबिन समितिले नैतिक प्रश्न उठाएपछि उहाँले पद त्याग गर्ने सोच बनाउनु भएको हो।”
उनी थप्छन्, “देशमा नैतिकताको संकट भइरहँदा त्यस्तो प्रश्न उठिसकेपछि बाहिरिनु नै सही ठान्नु भएको छ।”
राजीनामाको तयारीस्वरूप खतिवडाले पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा लगायतका नेताहरूसँग परामर्श गरिसकेका छन्। ती नेताका अनुसार खतिवडाले समितिको कामकाजमा सहभागी नहुनु, सवारी साधन फिर्ता गर्नुजस्ता कदम चाल्दै नैतिक रूपमा पदबाट अलग भइसकेका छन्।
स्रोतका अनुसार अब प्रतिनिधिसभाको बैठकमा आफ्नो धारणा सार्वजनिक गर्दै खतिवडाले औपचारिक रूपमा राजीनामा दिन सक्ने सम्भावना छ।
यता, सभापति खतिवडामाथि उठेको नैतिक प्रश्न गम्भीर बनेपछि नेपाली कांग्रेसका सभापति देउवाले शुक्रबार बिहान उपसभापति पूर्णबहादुर खड्का र दुई महामन्त्री थापा–शर्मासहितको बैठक डाकेर छलफल गरेका थिए।
उल्लेखनीय छ, प्रतिनिधिसभाबाट पारित भइसकेको संघीय निजामती विधेयकमा ‘कुलिङ अफ पिरियड’ सम्बन्धी धारामा प्रक्रिया मिचिएको आरोपपछि कांग्रेसले सह–महामन्त्री जीवन परियारको संयोजकत्वमा संसदीय छानबिन समिति गठन गरेको थियो। सो समितिले बुझाएको प्रतिवेदनमा सभापति खतिवडाको भूमिकाबारे नैतिक प्रश्न उठाएको हो।
प्रकाशित मिति: २३ श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया