कञ्चनपुर । नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा जनसङ्गठन प्रमुख भानुभक्त ढकालले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वबिना एमालेको कल्पना गर्न नसकिने बताएका छन्।
शुक्रबार कञ्चनपुरमा आयोजित प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश बैठक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै ढकालले एमाले आजको दिनमा राष्ट्रिय प्रमुख शक्ति बनेको श्रेय ओलीकै नेतृत्वलाई जाने दाबी गरे।
उनका अनुसार जनताको बहुदलीय जनवादको मार्गदर्शनमा तीनै तहका सरकारलाई जनमुखी बनाउन र ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य हासिल गर्न केपी ओलीको नेतृत्व अपरिहार्य रहेको छ।
‘ओली बिना एमाले बनाऊ भन्न पाइन्छ, म ओलीभन्दा राम्रो चलाउँछु भन्न पनि पाइन्छ, तर त्यो भनाइ उचित समय र स्थानमा हुनुपर्छ,’ ढकालले भने, ‘७० वर्षे उमेर सीमा र दुई कार्यकालको सीमा ओलीका लागि मात्रै होइन, सचिवालय, पोलिटब्युरो र केन्द्रीय कमिटीको सामूहिक निर्णय हो।’
उनले पार्टी विधानविपरीत हल्ला मच्चाउने कार्यलाई गैर-जिम्मेवार र अनुशासनहीन भन्दै महाधिवेशनमा प्रतिस्पर्धा गर्न सबैलाई अधिकार भए पनि त्यसका लागि विधानको पालना अनिवार्य भएको स्पष्ट पारे।
कार्यक्रममा सहभागी एमाले पोलिटब्युरो सदस्य निरुदेवी पालले पनि ओली नेतृत्वबिनाको एमाले, एमालेबिनाको नेपाल र नेपालको समृद्धिको कल्पना गर्न नसकिने धारणा राखिन्।
‘पार्टीको केन्द्रीय निर्णय नै हाम्रो विधानको सार हो, त्यसको कार्यान्वयनमा सम्पूर्ण एमाले नेता–कार्यकर्ता एकढिक्का छन्,’ पालले भनिन्।
प्रकाशित मिति: २३ श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया