काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध लगाएका आरोपहरू खारेज गर्दै तल्लो तहसम्म सर्कुलर पठाएको छ। पार्टी स्थायी समितिको निर्णयअनुसार बिहीबार जारी गरिएको सर्कुलरमा शर्माको अभिव्यक्ति र गतिविधि पार्टी अनुशासन विपरीत भएको उल्लेख गरिएको छ।
सर्कुलर अनुसार, अघिल्लो शुक्रबारदेखि आइतबारसम्म बसेको स्थायी समिति बैठकमा उपमहासचिव शर्माले सार्वजनिक रूपमा व्यक्त गरेका विचारहरू, नेतृत्वविरुद्धको अभिव्यक्ति, पदाधिकारी बैठकमा माइन्युटमा हस्ताक्षर नगरेको जस्ता गतिविधिहरू पार्टीको नीति र अनुशासनविपरीत भएको ठहर गरिएको हो।
‘स्थायी समितिका सदस्यहरूले उपमहासचिव शर्मालाई आत्मालोचना गरी आफ्ना कमजोरी सच्याउन आग्रह गरेका थिए’, सर्कुलरमा भनिएको छ, ‘अध्यक्षले समेत अन्तिमसम्म विशेष आग्रह गर्नुभयो, तर उनले माइन्युटमा हस्ताक्षर नगरेको विषयबाहेक अन्य कुरामा आत्मालोचना गर्न मानेनन्।’
पार्टीले उल्टै शर्माले अध्यक्षविरुद्ध निराधार आरोप लगाएको जनाएको छ।
‘पार्टी नेतृत्वमाथि लगाइएका आरोपहरू निराधार र तथ्यहीन भएको निष्कर्ष निकाल्दै स्थायी समितिले ती आरोपहरू खारेज गरेको छ,’ सर्कुलरमा भनिएको छ, ‘प्रभाकरलाई कडा आलोचना गर्दै भविष्यमा यस्ता अभिव्यक्ति र गतिविधि नगर्न चेतावनी दिइएको छ।’
पार्टीले असहमति र भिन्न मत राख्ने हक सबैलाई भए पनि त्यसलाई उचित प्रक्रिया र कमिटीभित्र छलफल गर्ने अभ्यासमा सीमित रहन निर्देशनसमेत दिएको छ।
शर्माले विशेष महाधिवेशनको माग गर्दै आएका थिए। पार्टी नेतृत्वबाटै फुटको वातावरण सिर्जना गरिएको, केन्द्रीय समितिका निर्णय कार्यान्वयन नभएको, पार्टी निर्माणबारे प्रश्न उठाउँदा आरोपित बनाइएको भन्ने आरोप उनले लगाउँदै आएका छन्।
प्रकाशित मिति: २३ श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया