काठमाडौँ । नेकपा (एमाले)का नेता महेश बस्नेतले सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि ‘नयाँ नौटकी’ सुरु गरेको आरोप लगाएका छन्।
सोमबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बस्नेतले लामिछानेले ‘नमागिएको धरौटी’ तिर्न अग्रसर भएर प्रकरणको दोस्रो अध्याय सुरु गरेको दाबी गरे। उनले लामिछानेले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ का दफा ६८ र ७१ प्रयोग गर्दै कानुनी चातुर्य देखाउन खोजेको आरोप पनि लगाए।
“यो न त नयाँ राजनीति हो, न नैतिक राजनीति, यो त नयाँ नौटङ्की हो,” बस्नेतले लेखेका छन्। उनका अनुसार जनताले तर्क होइन, न्याय खोजेका हुन्। “अन्यायमा परेका पीडितलाई न्याय नदिई बैंक धरौटीको सहारामा उम्किन खोज्दा रविको छवि अझै शंकास्पद बनेको छ,” उनले भने।
बस्नेतले बैंक ग्यारेन्टीको प्रयोग अदालतलाई भ्रममा पार्न सक्ने भए पनि जनतालाई चित्त बुझाउने उपाय भने नहुने टिप्पणी गरेका छन्।
प्रकाशित मिति: २३ श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया