काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र वरिष्ठ नेता वामदेव गौतमबीच शनिबार डल्लुस्थित खनालको निवासमा लामो भेटवार्ता भएको छ। खनालका स्वकीय सचिव कृष्ण भट्टराईले दुई नेताबीच करिब दुई घन्टा लामो छलफल जारी रहेको जानकारी दिए।
छलफलको विषयवस्तु पार्टीभित्र बढ्दो आन्तरिक विवाद र समसामयिक राजनीतिक स्थिति रहेको बताइएको छ।
पछिल्लो समय पार्टी अध्यक्ष माधवकुमार नेपाल र झलनाथ खनालबीच विवादले सार्वजनिक रूप लिएपछि पार्टी माहोल तनावग्रस्त बनेको छ। खासगरी पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचार आरोपमा अध्यक्ष नेपालविरुद्ध मुद्दा दर्ता भएयता दुई नेताबीचको दूरी अझ बढेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा अध्यक्ष नेपालविरुद्ध मुद्दा दर्ता गरेपछि खनालले नेतृत्वमा नैतिक प्रश्न उठाउँदै अध्यक्षले पदबाट हट्नुपर्ने सुझाव दिएका थिए।
त्यसयता दुवै नेता सार्वजनिक कार्यक्रमहरूमा एक अर्काप्रति कटु टिप्पणी र जवाफदेही दिन वाध्य भएका छन्। खनालले एमाले विभाजनमार्फत भएको विद्रोहलाई गलत भनेका थिए भने अध्यक्ष नेपालले खनाललाई पार्टीमा ठाउँ नभएको स्पष्ट पारेका थिए।
पछि खनालले नेतृत्व गर्न नसके पार्टी छाड्नुपर्ने धारणा राख्दै आफू पनि एमालेमै फर्किने संकेत गरेका छन्। अध्यक्ष नेपालले समेत खनाललाई एमालेमा फर्कन सुझाव दिएका छन्।
वरिष्ठ नेता गौतम भने साउन २ गतेबाट मात्रै एकीकृत समाजवादीमा प्रवेश गरेका हुन्। उनले एकता राष्ट्रिय अभियानबाट एकीकृत समाजवादीमा आए पनि पार्टीबाट जिम्मेवारी नपाएको भन्दै असन्तुष्टि जनाएका छन्।
गौतमले पद मात्र दिएर जिम्मेवारी नदिने पार्टीमा लामो समय नबस्ने स्पष्ट सार्वजनिक पनि गरिसकेका छन्।
यसरी पार्टीभित्रको मतभेद र असन्तुष्टिका बीच वरिष्ठ नेताहरूबीच वार्ता भइरहेको छ, जसले आगामी राजनीतिक अवस्थालाई असर पार्न सक्ने अनुमान गरिएको छ।
प्रकाशित मिति: २४ श्रावण २०८२, शनिबार













प्रतिक्रिया