धनगढी ।  कैलाली कारागारमा कैदीहरूबीच शुक्रबार मध्यराति भएको झडपपछि कारागार कैदीहरूको नियन्त्रणमा रहेको छ भने सुरक्षा निकायका प्रमुखहरू कारागारभित्र प्रवेश गर्न असमर्थ भएका छन्।

कारागारको अवस्था बुझ्न कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल, प्रहरी उपरीक्षक बालनसिह राणा, सशस्त्र प्रहरीका एसपी सुरेन्द्रराज रञ्जीत लगायत सुरक्षा अधिकारीहरू घटनास्थल पुगेका थिए। तर कैदीहरूले आक्रोश व्यक्त गर्दै सुरक्षाकर्मीलाई कारागारभित्र प्रवेश गर्न दिएका छैनन्।

advertisement

जिल्ला सुरक्षा समितिले कारागार सुरक्षा कडा गर्न सशस्त्र प्रहरी परिचालन गरिसकेको छ।

यसैबीच, राष्ट्रिय मानवअधिकार आयोगको टोली पनि घटनास्थलसम्म पुग्न सकिरहेको छैन। आयोगका एक अधिकृतले जानकारी दिए, “हामी घटनाबारे जानकारी सङ्कलन गर्दैछौं। प्रशासन कार्यालयसम्म भने पुग्न सकेका छौं, तर कारागारभित्र जान पाएका छैनौं।”

झडपमा धनगढी उपमहानगरपालिका–४ का ४० वर्षीय भरत चौधरीको मृत्यु भएको छ भने ४९ जना घाइते भएका छन्।

मृतक चौधरीको शव सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ भने घाइतेहरूलाई त्यही अस्पतालमा उपचार दिइरहेको छ। अस्पतालका वरिष्ठ फिजिसियन डा. शेरबहादुर कमरका अनुसार झडपमा फलामका रडहरू प्रचुर मात्रामा प्रयोग भएका कारण धेरै घाइतेका हातखुट्टा भाँचिएका छन्।

डा. कमरले भने, “फलामका रडहरूको प्रयोग धेरै भएको छ। घाइतेहरूको अवस्था जोखिममुक्त छ। एक जनाको शल्यक्रिया सकिएको छ भने अर्को एक जनालाई आईसियूमा राखिएको छ।”

सेती प्रादेशिक अस्पतालको इमर्जेन्सीमा उपचारका लागि स्थान अभाव भएपछि घाइतेहरूलाई नजिकै कोरोनाको समयमा बनाइएको अर्को भवनमा सारिएको छ।

प्रकाशित मिति: २४ श्रावण २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com