काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणको तयारीमा जुटिरहेकाबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीन भ्रमणका लागि तयारी गर्दैछन्।
लामो समयको प्रतीक्षापछि ओली भदौ ३१ र असोज १ गते दुई दिनको भारत भ्रमणमा जाने तय भएको छ। भ्रमण अवधि थप्ने विषयमा दिल्ली र काठमाडौँबीच थप वार्ता भइरहेको छ।
यसैबीच, भारतीय विदेश सचिव विक्रम मिश्री भदौ १ गते नेपाल आउने कार्यक्रम रहेको छ। मिश्रीले प्रधानमन्त्री ओलीलाई आधिकारिक निम्तो दिने तथा भ्रमणसँग सम्बन्धित अन्य विषयहरूमा पनि अन्तिम टुंगो लगाउने विश्वास गरिएको छ।
प्रधानमन्त्री ओलीको भारत भ्रमण अगाडि, भारतीय प्रधानमन्त्री मोदी सात वर्षपछि अगस्ट ३१ र सेप्टेम्बर १ मा चीन भ्रमणमा जाने भएका छन्। मोदीको यो भ्रमणपछि मात्रै ओली भारत जाने अपेक्षा गरिएको छ।
चीनका लागि पूर्वराजदूत टंक कार्कीले मोदीको चीन भ्रमणले नेपाललाई समेत लाभ पुर्याउने बताउँदै भने, “भारत र चीन नेपालका छिमेकी देश हुन् र यी दुईको मैत्री सम्बन्धले नेपाललाई पनि सकारात्मक प्रभाव पार्छ।” उनले थपे, “यी दुई आर्थिक रूपमा समृद्ध देशहरू बीच नेपालले धेरै अवसरहरू पाउन सक्छ, तर अहिलेसम्म त्यो सदुपयोग गर्न सकेको छैन।”
कूटनीतिक विश्लेषकहरूले पनि ओलीको भारत भ्रमण र मोदीको चीन भ्रमणलाई अन्तराष्ट्रिय कूटनीतिक सन्दर्भमा महत्वपूर्ण घटना भन्दै मूल्यांकन गरेका छन्। उनीहरूले मोदीको भ्रमणअघि भारतले नेपालसँग उच्चस्तरीय सम्पर्कका लागि विदेश सचिव मिश्रीलाई पठाउनु त्यसैको संकेत भएको बताएका छन्।
प्रधानमन्त्री ओलीले विगतमा अमेरिका र चीन भ्रमण गरिसकेका छन्। मंसिर १७ गते २०८१ मा उनले चीन भ्रमण गरेका थिए, जुन नेपालका लागि पहिलोपटक कुनै प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण चीनमा हुनु विशेष थियो। त्यो घटनाले नेपाल–भारत सम्बन्धमा केही चिसोपन थपिएको मानिन्छ।
तर पछिल्लो समय भएका कूटनीतिक प्रयासहरूलाई ध्यानमा राख्दै ओलीको भारत भ्रमणलाई सकारात्मक रूपमा हेरिएको छ। यसले नेपाल–भारत सम्बन्धमा नयाँ अध्याय खोल्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: २४ श्रावण २०८२, शनिबार












प्रतिक्रिया