हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको विश्वासको मतमा समर्थन जनाउन तीन बुँदे ह्वीप जारी गरेको छ।
२७ साउनमा मुख्यमन्त्री बानियाँले संविधानको धारा १६८ (४) र प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ (१) अनुसार विश्वासको मत लिँदैछन्। प्रदेशसभा सचिवालयले दिउँसो ४ बजे बैठक आह्वान गरेको छ।
कांग्रेस संसदीय दलको ९ सदस्यीय कार्यसमिति गठनसँगै बसेको बैठकले ह्वीप जारी गर्ने निर्णय गरेको प्रदेशसभा सदस्य सुरजचन्द्र लामिछानेले जानकारी दिए।
ललितपुर भैंसेपाटीस्थित मुख्यमन्त्री निवासमा बसेको बैठकले विश्वासको मतमा समर्थन जनाउन तीन बुँदामा ह्वीप जारी गर्ने निर्णय गरेको छ — बैठकमा अनिवार्य उपस्थित हुने, तटस्थ नबस्ने, र विश्वासको मतको पक्षमा मतदान गर्ने।
दलले प्रवक्तामा सुरजचन्द्र लामिछानेलाई तोकेको छ भने तीन सदस्यीय अनुशासन समिति समेत गठन गरिएको छ।
यसैगरी, २७ साउन १ बजे कांग्रेस संसदीय दलको कार्यालय हेटौंडामा अर्को बैठक राख्ने निर्णय गरिएको छ।
विभाजनको अवस्था : मुख्यमन्त्री बानियाँ पक्षले भैंसेपाटीमा बैठक गरिरहेको छ भने निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामा पक्ष काठमाडौंमा छुट्टै बैठकमा विश्वासको मतबारे छलफलमा छ। लामा पक्षले असन्तुष्टि जनाउँदै पार्टी सभापति शेरबहादुर देउवासँग भेट गर्ने तयारी गरेको छ।
लामा पक्षले २० साउनमा अन्य मन्त्री नियुक्ति गर्दै आफूहरूले मागेको तीन मन्त्री नियुक्त नगरेको कारण असन्तुष्ट भएको जनाएको छ।
प्रकाशित मिति: २४ श्रावण २०८२, शनिबार












प्रतिक्रिया