काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टी सभापति रवि लामिछानेको धरौटीका लागि आवश्यक रकम जुटाउनमा परिवार र शुभचिन्तकहरूको ठूलो साथ रहेको बताएका छन्।
सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले रु २ करोड ७४ लाखभन्दा बढीको बैंक ग्यारेन्टी बुझाएपछि रकमको स्रोतबारे उठेका प्रश्नहरूको जवाफ दिँदै डा. वाग्लेले भने, “यो रवि लामिछानेको व्यक्तिगत विषय हो, पार्टीले यति ठूलो रकम जुटाउन सकिरहेको छैन। यो रकम उहाँको परिवार र शुभचिन्तकबाट संकलित भएको हो।”
उनी थप्छन्, “उनको बहिनीले जग्गा बेचेर सहयोग गरेको छ भने पत्नी निकिताजी मार्फत पनि सहयोग भइरहेको छ। साथै, थुप्रै शुभचिन्तकहरूबाट पनि रकम संकलन भइरहेको छ। चितवनमा जनताले लालपुर्जा लिएर आएका दृश्य तपाईंहरूले देख्नुभएको होला। त्यसैले डेढ देखि दुई करोड रुपैयाँ जुटाउन उनलाई सहयोग गर्ने कमी छैन।”
डा. वाग्लेले कानुनी मुद्दा सामना गर्नका लागि पार्टीले औपचारिक ‘कानुनी प्रतिरक्षा कोष’ समेत स्थापना गरेको जानकारी दिए। उनले भने, “आज रवि लामिछानेलाई परे, भोलि अन्य नेतालाई पनि पर्न सक्छ। त्यसैले यस्तो कोष स्थापना गरेर स्वैच्छिक रूपमा सहयोग जुटाउन थालेका छौं।”
उनले लामिछानेको पक्षमा चलाइएको हस्ताक्षर अभियानमा हालसम्म ३२ लाखभन्दा बढी हस्ताक्षर संकलन भइसकेको र यो क्रम जारी रहेको बताए। “यो अभियान जनताको आवाजको दस्तावेजीकरण हो र लोकतान्त्रिक भावना दर्शाउँछ। जनताले तलबाट नै जवाफ दिइसकेपछि हामीलाई थप विरोध गर्नुपर्ने अवस्था छैन,” डा. वाग्लेले भने।
सुप्रिम सहकारी ठगी प्रकरणमा अभियुक्त बनेका लामिछानेले रु २ करोड ७४ लाखभन्दा बढीको बैंक ग्यारेन्टी अदालतमा बुझाउँदै थुनाबाट बाहिरैबाट मुद्दा सामना गर्ने अनुमति माग गर्दै निवेदन दिएका छन्।
प्रकाशित मिति: २४ श्रावण २०८२, शनिबार












प्रतिक्रिया