सुर्खेत । कर्णाली प्रदेशमा सत्ता साझेदार दल नेकपा (एमाले) र नेपाली कांग्रेसबीच बढ्दो असमझदारीका बीच शनिबार दुई दलीय गठबन्धन संयन्त्रको बैठक बसेको छ।
चिसिएको सम्बन्धलाई पुनः न्यानो बनाउन र आपसी अविश्वास कम गर्न बसेको उक्त बैठकले “मिलेर अघि बढ्ने” सहमति गरेको दुवै दलका नेताहरूले दाबी गरेका छन्।
नेपाली कांग्रेसको प्रदेश कार्यालयमा सम्पन्न बैठकमा एमालेतर्फबाट मुख्यमन्त्री यामलाल कँडेल, प्रदेश इन्चार्ज गोरख बोगटी, प्रदेश अध्यक्ष गुलाबजंग शाह तथा कांग्रेसतर्फबाट पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही र प्रदेश सभापति ललितजंग शाही सहभागी थिए।
बैठकपछि कांग्रेस प्रदेश सभापति ललितजंग शाहीले तत्काल उठेका समस्याहरू समाधान गर्दै विभिन्न निकायमा रोकिएका नियुक्तिहरू अघि बढाउने र सरकारलाई अझ प्रभावकारी बनाउने सहमति भएको जानकारी दिए। उनले हालै पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले अर्थ मन्त्रालयको कार्यक्रम बहिष्कार गरेको विषयलाई ‘पार्टीगत असमझदारी होइन, केवल प्रोटोकल र सान्दर्भिकतासम्बन्धी विवाद’ मात्र भएको बताए।
“यो आसन ग्रहण र बोल्ने समयजस्ता विषयमा तालमेल नमिलेको मात्र हो, गठबन्धनमा दरार परेको होइन,” उनले स्पष्ट पारे।
यस्तै, एमाले प्रदेश अध्यक्ष गुलाबजंग शाहले पनि गठबन्धनमा कुनै समस्या नभएको जिकिर गर्दै भने, “दलभित्र उठ्ने सामान्य कुरा नै संयन्त्रले सहमतिमा टुङ्ग्याउने हो, हामी अझै एकजुट छौँ।”
नेताहरूले ‘अल इज वेल’को सन्देश दिएको भए पनि पछिल्ला केही दिनयता कर्णाली गठबन्धनमा परिस्थिति सहज थिएन। बिहीबार मात्र एमाले संसदीय दलले कांग्रेसको भूमिका ‘गठबन्धनको संस्कृतिअनुरूप नभएको’ निष्कर्ष निकालेको थियो। त्यसको भोलिपल्ट कांग्रेस संसदीय दलका सदस्यसमेत रहेका जीवनबहादुर शाहीले अर्थ मन्त्रालयको कार्यक्रम बहिष्कार गरेपछि विवाद सतहमा आएको हो। यही पृष्ठभूमिमा शनिबारको बैठकलाई गठबन्धनको भविष्य निर्धारण गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिइएको छ।
प्रकाशित मिति: २४ श्रावण २०८२, शनिबार












प्रतिक्रिया