काठमाडौं । युक्रेनका युरोपेली सहयोगी राष्ट्रहरूले रुससँग हुने कुनै पनि शान्तिवार्तामा युक्रेनको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्नुपर्ने भन्दै जोड दिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच शुक्रबार अलास्कामा तय भएको वार्ताको पूर्वसन्ध्यामा बेलायत, फ्रान्स, इटाली, जर्मनी, पोल्यान्ड, फिनल्यान्ड र युरोपेली आयोगका शीर्ष नेताहरूले संयुक्त वक्तव्य जारी गर्दै भनेका छन्, “युक्रेनबिनाको शान्ति सम्भव छैन।”
राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि युक्रेनलाई बाहिर राखी गरिने कुनै पनि सम्झौता ‘मृत निर्णय’ हुने चेतावनी दिएका छन्। उनले टेलिग्राममार्फत प्रतिक्रिया दिँदै भनेका छन्, “हामी रुसलाई उसको आक्रमणका लागि पुरस्कार दिने छैनौँ। हाम्रो विरुद्धमा वा युक्रेनबिना गरिएका कुनै पनि निर्णय शान्तिको विपक्षमा हुनेछन्।”
ह्वाइट हाउसका एक अधिकारीका अनुसार राष्ट्रपति ट्रम्प पुटिन र जेलेन्स्की दुवैलाई समेटेर त्रिपक्षीय बैठक गर्न इच्छुक छन्। तर अहिलेको चरणमा पुटिनको अनुरोधअनुसार वार्ता दुई पक्षीय मात्र हुने भएको छ। ट्रम्पले भने पुटिनसँगको भेटपछि त्रिपक्षीय वार्ता सम्भव हुने संकेत दिएका छन्।
तर, पुटिनले त्रिपक्षीय भेटमा सहमति जनाउने वा नजनाउने अझै स्पष्ट छैन। उनले यसअघि पनि प्रत्यक्ष वार्ताका धेरै प्रस्ताव अस्वीकार गरिसकेका छन्। युक्रेनमा रुसको पूर्ण आक्रमण सुरु भएयता ट्रम्प र जेलेन्स्की आमनेसामने भेटघाट गर्न पाएका छैनन्।
ट्रम्पले केही क्षेत्रहरूको आदान–प्रदानमार्फत रुस–युक्रेनबीच सम्झौता सम्भव हुने अभिव्यक्ति दिएको केही समयमै, जेलेन्स्कीको कडा आपत्ति आएको हो।
प्रकाशित मिति: २५ श्रावण २०८२, आइतबार













प्रतिक्रिया