रसुवा । धार्मिक एवं सांस्कृतिक महत्व बोकेको गोसाइँकुण्ड मेलामा यस वर्ष पनि नेकपा (माओवादी केन्द्र)का सहायक संगठन वाईसीएल र अखिल क्रान्तिकारीले निःशुल्क स्वास्थ्य सेवा सञ्चालन गरेका छन्।
साउन २० गतेदेखि २४ गतेसम्म चलेको शिविरमा उच्च उचाइमा हुने स्वास्थ्य समस्या, विशेषगरी लेक लाग्ने जोखिमका यात्रुहरूको स्वास्थ्य जाँच, प्राथमिक उपचार र औषधि वितरण गरिएको वाईसीएल नेता गणेश विकले जानकारी दिए।
वाईसीएल र अखिल क्रान्तिकारीका कार्यकर्ताहरूले मेलास्थलमा बाटो देखाउने, सामान बोक्ने, स्वास्थ्यसम्बन्धी जानकारी दिने तथा अचेत वा अस्वस्थ यात्रुहरूको उद्धार गर्ने काममा सक्रिय रहे। स्वास्थ्य बिग्रिएका एक यात्रुलाई काँधमा बोकेर अस्पताल पुर्याएको दृश्य मेलामा उपस्थितका लागि प्रेरणादायी बनेको छ।
मेलामा सहभागी धेरै यात्रुहरूले वाईसीएलको पहलले आफूलाई सुरक्षित महसुस गराएको टिप्पणी गरेका छन्। आयोजकहरूले यो अभियानले भविष्यका धार्मिक यात्रामा युवा संगठनको भूमिकाको आवश्यकता देखाएको बताए।
रसुवासँगै, जनैपूर्णिमा अवसरमा वाईसीएल मण्डनदेउपुर (काभ्रे) ले नगरकोट र वाईसीएल तेमाल गाउँपालिकाले नारायणस्थान मेलामा निःशुल्क खानेपानी वितरण तथा सरसफाइ कार्यक्रम सञ्चालन गरे।
त्यसैगरी, राष्ट्रिय स्तरको दुई महिने श्रम तथा उत्पादन अभियान अन्तर्गत वाईसीएल नेपालले बाराको कोल्हवी नगरपालिका–९ अडेम्बा बिर्तामा वृक्षारोपण, सरसफाइ र उत्पादनबारे जनचेतनामूलक कार्यक्रम सुरु गरेको छ।
वाईसीएलका अनुसार, विपत्तिको बेला वा श्रमदानका कार्यमा संगठन अग्रपंक्तिमा रहने प्रतिबद्धता राख्दै आएको छ।

प्रकाशित मिति: २५ श्रावण २०८२, आइतबार













प्रतिक्रिया