धनगढी । तनावग्रस्त बनेको कैलाली कारागारमा रहेका कैदीबन्दीको यकिन संख्या निर्धारण गर्न गणना प्रक्रिया सुरु गरिएको छ । शनिबार मात्रै कारागारको जिम्मेवारी सम्हालेका जेलर जलन्धर भुसालले व्यक्तिगत रूपमा प्रत्येक कैदीलाई बोलाएर संख्या नापतौल गर्न थालेका छन् ।

कारागार स्रोतका अनुसार, अहिले धमाधम कैदीबन्दीको संख्या यकिन गर्ने कार्य जारी छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले पनि जेलरको नेतृत्वमा अनुहार हेरेर कैदी गणना भइरहेको पुष्टि गरेका छन् ।

advertisement

कारागारमा भएको हिंसात्मक झडपपछि शुक्रबार राति एक कैदीको मृत्यु भइसकेको छ भने ४९ जना घाइते भएका छन् । घटना भएको ३६ घण्टा बित्दा पनि स्थानीय प्रशासनले पूर्ण रूपमा स्थिति नियन्त्रणमा लिन सकेको छैन ।

यसैबीच, आइतबार दिउँसो २ बजेपछि प्रशासनले कैदीबन्दीको यकिन संख्या निर्धारण गर्न सक्रियता देखाएको छ । भित्री अवस्था अझै तनावपूर्ण रहेको र कैदीबन्दीले थुनुवा कक्षमा ताला लगाएर पूर्ण नियन्त्रण लिइसकेको स्रोतहरूले बताएका छन् ।

सुरक्षा निकायका कर्मचारीहरू पनि भित्र प्रवेश गर्न सकेका छैनन् र गृह मन्त्रालय वा कारागार विभागका प्रतिनिधिहरू आएपछि मात्र थुनुवा कक्ष खोल्ने तयारी गरिएको छ ।

कारागारको अवस्था बारे तथ्यांक सार्वजनिक नभए पनि विभिन्न मुद्दामा सजाय भोगिरहेका कैदीबन्दीका परिवार सदस्यहरू झडपका खबरले चिन्तित भएका छन् । प्रशासनले उनीहरूलाई गेट बाहिरै रोकेको छ ।

१५० जनाका लागि क्षमतावाला कैलाली कारागारमा हाल करिब सात सय जना कैदीबन्दी राखिएको छ । अधिक सङ्ख्यामा कैदी राखिएपछि कारागारमा पटकपटक तनाव र झडप हुने क्रम जारी रहेको छ ।

प्रकाशित मिति: २५ श्रावण २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com