गोरखा । पालुङटार नगरपालिका–५ ठाँटीपोखरीमा आयोजना गरिएको कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रको संरक्षण सबैको साझा दायित्व भएको बताए ।

नेपाल आदिवासी जनजाति महासंघ पालुङटार नगर समन्वय परिषद् द्वारा आयोजित ३१औं विश्व आदिवासी जनजाति दिवसको अवसरमा बोल्दै उनले हालको लोकतान्त्रिक व्यवस्थामाथि प्रतिगमनको खतरा देखिएको भन्दै सचेत हुन सबैमा आग्रह गरे । “यो व्यवस्था हजारौं बलिदानीको र त्यागको परिणाम हो । यसलाई कमजोर पार्ने, अधिकारहरू खोस्ने, आन्दोलनका शहीद, बेपत्ता तथा घाइतेहरूलाई अपमानित गर्ने षडयन्त्रहरू भइरहेका छन्,” उनले भनें ।

advertisement

श्रेष्ठले समावेशीकरणका उपलब्धिहरूलाई निरन्तरता दिँदै संविधानमा उल्लिखित समानुपातिक समावेशीकरणलाई पूर्णरूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । स्थानीय, प्रदेश र संघीय तहमा महिला, आदिवासी जनजाति, दलित, मधेसी, थारू, मुस्लिम लगायत समुदायहरूको प्रतिनिधित्व र आरक्षण कायम राख्ने मात्र नभई अझ विस्तार गर्नुपर्ने उनको भनाइ थियो ।

उनले स्वायत्त, संरक्षित तथा विशेष क्षेत्रको संवैधानिक व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गरी सीमान्तकृत समुदायहरूको पहिचान, अधिकार र विकासमा प्रभावकारी भूमिका खेल्नुपर्ने बताए । भाषा र संस्कृतिको संरक्षणका लागि पनि राज्य तथा समुदाय दुवै सक्रिय हुनुपर्नेमा उनले जोड दिए ।

राजनीतिक अस्थिरता अन्त्य गर्न शासन प्रणालीमा सुधार आवश्यक रहेको भन्दै श्रेष्ठले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था, भ्रष्टाचार नियन्त्रण र पारदर्शी शासनको आवश्यकता औँल्याए ।

“राजनीतिक नेतृत्व सही दिशामा भए मात्र सामाजिक–आर्थिक रुपान्तरण सम्भव छ । त्यसका लागि लोकतन्त्रको संरक्षण, समावेशीकरणको पूर्ण कार्यान्वयन, भाषा–संस्कृतिको जगेर्ना, राजनीतिक स्थिरता र सुशासन अनिवार्य छन्,” उनले भने ।

श्रेष्ठले बाँकी अधिकार हासिल गर्न आदिवासी जनजाति र सिमान्तकृत समुदायलाई एकजुट भएर संघर्षमा अघि बढ्न पनि अपील गरे ।

प्रकाशित मिति: २५ श्रावण २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com