तस्बिर : एन्फा
काठमाडौं । अस्ट्रेलियामा हुने टप एन्ड टी–२० सिरिजमा नेपाली राष्ट्रिय टोलीका ललित राजवंशीको सट्टा साहब आलम खेल्ने भएका छन्।
ललितकी आमाको निधन भएपछि उनको स्थानमा साहबलाई टोलीमा समावेश गरिएको नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले जानकारी दिए। ललितकी आमा आइतबार मोरङमा निधन भएकी थिइन्।
नेपाली टोली अगस्ट १४ देखि २४ सम्म हुने सिरिजका लागि अस्ट्रेलियाको डार्विन जाँदैछ। नेपालले पहिलो खेल अगस्ट १५ मा नर्दर्न टेरिटोरी स्ट्राइकरसँग खेल्नेछ। यसपछि क्रमशः बंगलादेश ‘ए’ (१६ अगस्ट), मेलबर्न स्टार्स (१८ अगस्ट), होबर्ट हुरिकेन्स (१९ अगस्ट), मेलबर्न (२० अगस्ट) र पाकिस्तान साहिन्स (२२ अगस्ट) सँग खेल्ने तालिका छ।
यो सिरिज अक्टोबरमा ओमानमा हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा पूर्वी एसिया–प्रशान्त क्षेत्रको संयुक्त छनोटको तयारीका रूपमा खेलिँदैछ।
१६ सदस्यीय टोलीमा कप्तान रोहित पौडेल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, आरिफ सेख, भीम सार्की, रुपेस कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण केसी, रिजन ढकाल, लोकेस बम र साहब आलम छन्।
प्रकाशित मिति: २५ श्रावण २०८२, आइतबार













प्रतिक्रिया