दिल्ली । भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले पाकिस्तानसँग निकट भविष्यमा पुनः युद्ध हुने गम्भीर सम्भावना व्यक्त गर्दै त्यसका लागि देशलाई एकजुट भएर तयार रहन आग्रह गरेका छन्।
शनिबार आईआईटी मद्रासमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भने, “अर्को युद्ध चाँडै हुन सक्छ। त्यसैले हामीले पूर्ण तयारी गर्नुपर्छ र यो पटक लडाइँ सबै मिलेर लड्नुपर्नेछ।”
उनका अनुसार हालैका सैन्य कारबाहीहरूले पनि यो आवश्यकता स्पष्ट पारेका छन्। उनले २५ अप्रिलमा उत्तरी कमानको निरीक्षणका क्रममा अपरेसन योजना तयार पारिएको र त्यस क्रममा ९ मध्ये ७ आतङ्कवादी आश्रयस्थल ध्वस्त पारिएको, साथै धेरै आतङ्ककारी मारिएका घटनाको स्मरण गरे।
द्विवेदीले २९ अप्रिलमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको भेटको प्रसंग पनि सुनाए। सफल अपरेसनहरूले राष्ट्रिय एकतालाई बलियो बनाउने भन्दै उनले भने, “अपरेसन ‘सिन्दुर’ जस्तो सानो नामले पनि पूरै देशलाई जोड्ने शक्ति राख्छ। यसले सम्पूर्ण राष्ट्रलाई प्रेरित गर्यो। त्यसैले कतिपयले यो किन रोकियो भनेर प्रश्न गरे र त्यसको ठोस जवाफ दिइएको छ।”
कार्यक्रममा भारतीय सेनाको प्रविधि विकासका पहलहरूबारे पनि जानकारी दिइयो। विशेषगरी ‘अग्निशोध’ नामक परियोजना सेनाको अनुसन्धान सेल (IARC) को पहलमा अघि बढाइएको महत्त्वपूर्ण कदम भएको जनाइएको छ।
‘अग्निशोध’को उद्देश्य सैनिकहरूलाई थ्रीडी प्रिन्टिङ, साइबर सुरक्षा, क्वान्टम कम्प्युटिङ, वायरलेस सञ्चार र मानवरहित प्रणाली (Unmanned Systems) जस्ता अत्याधुनिक प्रविधिमा दक्ष बनाउनु हो। यसबाट भविष्यमा प्रविधिमा निपुण, सक्षम र आत्मनिर्भर जनशक्ति तयार पार्ने लक्ष्य राखिएको छ।
प्रकाशित मिति: २५ श्रावण २०८२, आइतबार












प्रतिक्रिया