काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव एवं सांसद शक्तिबहादुर बस्नेतले आतङ्कवादविरुद्धको लडाइँमा केवल सुरक्षा संयन्त्रको प्रयोगले मात्र समाधान नहुने बताएका छन्।
आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै बस्नेतले सुरक्षा संयन्त्रभित्र रहेको राजनीति हटाउन नसकिने बताए। उनले सुरक्षा संयन्त्र र राजनीतिबीचको सम्बन्धले आतङ्क र आतङ्कवादबीचको भेद र अन्तरसम्बन्धलाई परिभाषित गर्ने उल्लेख गरे।
बस्नेतले आतङ्कवाद र आन्तरिक राजनीतिक विद्रोह छुट्याउनुपर्ने भन्दै देशको विविधतालाई सही रूपमा व्यवस्थापन नगर्दा समस्या बढ्न सक्ने सचेत गराए।
उनले भने, “मिलिटरी एक्टमा रहेको राजनीतिक आत्मालाई हटाइएपछि पनि बाँकी आतङ्क रहन्छ। यसको घनत्व, आयाम र प्रभाव क्षेत्रले आतङ्क र आतङ्कवादबीचको भेदलाई परिभाषित गर्छ। सुरक्षाका उपकरणहरू आतङ्कवादको समाधानका लागि महत्वपूर्ण भए पनि मात्र होइनन्। यसलाई समाजको सांस्कृतिक, सामाजिक र आर्थिक पक्षबाट पनि हेर्नुपर्छ। यथार्थमा त्यस्तै रणनीति बनाएर मात्रै समस्या समाधान गर्न सकिन्छ।”
बस्नेतले पछिल्लो समय बढ्दो आतङ्कवाद नियन्त्रणका लागि सुरक्षा संयन्त्रसहित सांस्कृतिक, सामाजिक र आर्थिक पक्षबाट समेत रणनीति बनाउनु आवश्यक रहेको बताए।
प्रकाशित मिति: २५ श्रावण २०८२, आइतबार












प्रतिक्रिया