काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध चलिरहेको पतञ्जली जग्गा प्रकरणको भ्रष्टाचार मुद्दाबाट उनलाई कसरी जोगाउने भन्ने विषयमा आफू निरन्तर सक्रिय रहेको स्पष्ट पारेका छन्। तर, यो प्रयत्नलाई पदच्युत गर्ने षड्यन्त्रका रूपमा बुझिनु ‘कच्चापन र बचपना’ भएको उनले टिप्पणी गरे।
पतञ्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८२ जेठ २२ मा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। आरोपअनुसार, २०६६ सालमा मन्त्रिपरिषद्को निर्णयमार्फत पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीलाई ८१५ रोपनी जग्गा खरिदका लागि हदबन्दी छुट दिइयो। त्यसपछि दुई महिनाभित्रै बनेपास्थित सो जग्गामध्ये ३५३ रोपनी १५ आना काष्ठमण्डप हाउजिङ कम्पनीलाई बेच्ने स्वीकृति दिइएको थियो। यो निर्णय कानुनविपरीत भएको र नीतिगत भ्रष्टाचारमा पर्न गएको भन्दै १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो मागसहित मुद्दा दायर भएको हो। मुद्दा दायर भएसँगै नेपालको सांसद पद निलम्बित छ।
“माधव कमरेडलाई १९ करोडको मुद्दा लागेको छ। यो मुद्दालाई कसरी अनुकूल बनाउने, उहाँलाई कसरी कानुनी रूपमा सशक्त बचाउ गर्ने भन्नेबारे म सधैं सोचिरहन्छु। सचिवालयमा राखेको मेरो प्रस्ताव पनि यही उद्देश्यका लागि हो।” उनले अध्यक्ष पद छोड्न सुझाव दिएको कारण पनि यही रहेको तर त्यसलाई केहीले गलत अर्थ लगाएको बताए।
खनालले कतिपय नेताहरूले “यो मुद्दा माधव नेपाल मात्र होइन, पूरै पार्टीमाथि लागेको हो” भन्ने धारणा सार्वजनिक गरिरहेको उल्लेख गर्दै त्यसलाई असैद्धान्तिक, अराजनीतिक र संवैधानिक मर्मविपरीत भने। उनका अनुसार, यस्तो टिप्पणीले अध्यक्ष नेपाललाई अझै बढी समस्यामा पार्नेछ।
पूर्वमा केपी शर्मा ओली र राधाकृष्ण मैनालीजस्ता नेतामाथि पनि मुद्दा लाग्दा राजनीतिक र कानुनी दुवै मोर्चामा लडिएको स्मरण गर्दै खनालले भने, “अब माधव कमरेडमाथि मुद्दा लागिसकेकाले कच्चा कदम चाल्नु हुँदैन। मैले प्रस्तुत गरेको प्रस्ताव पार्टीले कस्तो राजनीतिक र नैतिक स्तर कायम गर्ने भन्नेबारे सोचविचार गरेर तयार गरिएको हो। त्यसलाई सत्ताच्युत गर्ने वा व्यक्तिगत प्रतिशोधको रूपमा बुझ्नु अत्यन्तै अपरिपक्वता हो।”
प्रकाशित मिति: २६ श्रावण २०८२, सोमबार












प्रतिक्रिया