काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद (डिपी) अर्यालसँग सम्बन्धित सुमिरे टुर एन्ड ट्राभल्समार्फत भिजिट भिसामा कोरिया र डेनमार्क पुगेका केही व्यक्ति त्यहाँ गैरकानुनी रूपमा बसोबास गरिरहेको खुलेको छ। नेपाल स्काउटको लोगो देखाएर टिकट काटी विदेश गएका ती व्यक्तिहरूमध्ये केही उतै लुकेका हुन्।
यो प्रकरणलाई लिएर नेकपा (एमाले)का नेता महेश बस्नेतले अर्यालमाथि गम्भीर नैतिक प्रश्न उठाएका छन्। सोमबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले अर्याल ‘पानीमाथिको ओभानो’ बनेर जिम्मेवारीबाट पन्छिन खोजिरहेको आरोप लगाए। बस्नेतका अनुसार भिजिट भिसा प्रकरणमा रास्वपाका कार्यवाहक सभापति अर्याललगायतका सांसद र गृहमन्त्री रमेश लेखकसमेत नैतिक रूपमा प्रश्नको घेरामा परेका छन्।
मानव बेचबिखन नियन्त्रण ब्युरोको अनुसन्धान क्रममा यो तथ्य फेला परेको हो। ब्युरोका एक अधिकारीका अनुसार, भिजिट भिसामा पठाइएका नागरिकको विवरण संकलन गर्ने क्रममा स्काउट प्रतिनिधिहरूसँग सोधपुछ भइरहेको छ। यद्यपि, ब्युरोले यो विषयलाई सार्वजनिक नगरी गोप्य राख्ने प्रयास गरेको आरोप पनि छ।
प्रकाशित मिति: २६ श्रावण २०८२, सोमबार












प्रतिक्रिया