काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगको टोलीले भैरहवा कारागारमा राखिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वउपप्रधानमन्त्री रवि लामिछानेको कोठा प्लाइउडले बन्द झ्याल भएको र वातानुकूलन सुविधा नभएको पुष्टि गरेको छ।
सोमबार कारागार निरीक्षणमा पुगेको आयोगका प्रतिनिधिहरूले लामिछानेको कोठामा एसी नभएको, दुईवटा पंखा रहेको र झ्याल प्लाइउडले बन्द भएको अवस्था पाएको बताएका छन्।
आयोगकी आयुक्त लिली थापाले भनिन्, “यो कारागार २५० कैदी राख्न सक्षम छ भने हाल करिब ७०० कैदी रहेका छन्, जसले न्यूनतम मानवअधिकार हनन गरेको देखिन्छ।” उनले कारागार प्रमुखलाई कैदी व्यवस्थापनका लागि धन्यवाद दिँदै पनि क्षमताभन्दा बढी कैदी राख्नु सरकारको कमजोरी रहेको औँल्याइन्।
लामिछानेसँग भेट्दा उनले बाहिर हिँडडुल, स्वच्छ हावा लिन, पत्रपत्रिका पढ्न, समाचार सुन्न र कानुनी सहायता लिन पाएका छैनन् भनेको आयोगले जनाएको छ। साथै, उनले आफ्ना कार्यकर्तासँग भेट गर्न पनि पाएका छैनन्।
लामिछानेलाई ४२० वर्गफुट क्षेत्रफलको कोठामा राखिएको छ जहाँ खुल्ला अट्याच बाथरूम छ। कारागार प्रशासनले सुरक्षाका कारण झ्याल प्लाइउडले बन्द गरिएको बताएका छन् तर आयोगले झ्याल खोल्न आग्रह गर्दा प्रशासनले सहमति जनाएको छ।
मानवअधिकार आयोगले छिट्टै कारागारको अवस्था सम्बन्धी औपचारिक धारणा सार्वजनिक गर्ने जनाएको छ।
प्रकाशित मिति: २६ श्रावण २०८२, सोमबार












प्रतिक्रिया